धरान : स्व. सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको उपाधि धरान–१५ ले जितेको छ । 

शनिवार धरान रङ्गशालामा भएको फाइनल खेलमा वडा नं. ११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधि जितेको हो । उपाधिसँगै वडा नं. १५ ले नगद रु. २ लाख पुरस्कार समेत जितेको छ । उपविजेता भएको ११ नं. वडाले नगद १ लाख पुरस्कारमा चित्त बुझाएको छ । 

प्रतियोगिताको सेमिफाइनलमा पुगेका टिमहरूलाई पनि पुरस्कार दिने घोषणा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका छन् ।  १५ नं. वडा व्यक्तिगत पुरस्कारमा समेत अगाडी रह्यो । १५ नं. वडाका गोल किपर प्रवीण लिम्बू प्रतियोगिताको उत्कृष्ट गोल किपर घोषित भए ।

उत्कृष्ट मिडफिल्डर सुगम जिमी, उच्च गोलकर्ता मदन लाबुङ, उत्कृष्ट प्रशिक्षक जुदास राई र फाइनल खेलको म्यान अफ द म्याच वसन्तकुमार बानिया घोषित भए । उनीहरू १५ नं. वडाका खेलाडीहरू हुन् । त्यस्तै वडा नं. ११ का अजय विष्ट उत्कृष्ट डिफेन्स घोषित भए । त्यस्तै उत्कृष्ट स्ट्राइकर वर्तमान राई घोषित भए ।  प्रत्येकलाई नगद ५ हजार सहित मेडल प्रदान गरिएको थियो ।

फाइनल खेलमा वडा नं. ११ ले उत्कृष्ट अवसरहरूमा गोल गर्न नसक्दा पराजित हुन पुग्यो । वडा नं. ११ का हेमन्त थापा मगरले प्रहार गरेको दुई वटा फ्रिकिक बारमा लागेर फर्किएको थियो । खेलको १३ औँ मिनेटमा नै १५ नं. वडाका वसन्त बानियाले विपक्षी गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । त्यस्तै खेलको ५० औँ मिनेटमा डिबक्स भित्र ११ नं. वडाका खेलाडीले १५ नं. वडाका सुगम जिमीलाई लडाएपछि पाएको पेनाल्टीमा १५ नं. वडाका मदन लाबुङले गोल गर्दै प्रतियोगिताको उच्च गोलकर्ता भएका थिए । उनले प्रतियोगितामा ५ गोल गरे ।

प्रतियोगिताको आयोजना धरान उपमहानगरपालिका नगर खेलकुद विकास समितिले गरेको हो भने व्यवस्थापन धरान भेट्रान्स फुटबल क्लबले गरेको हो । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगितामा गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी थिए । ८ टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा समूह विजेता र उपविजेता सेमिफाइनलमा पुगेका थिए । प्रतियोगिता फागुन २८ गते सुरु भएको थियो ।