धरान : स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जनप्रतिनिधिहरू शिलान्यास र उद्घाटन गरेर काम देखाउनमा व्यस्त हुन थालेका छन् । आफ्नो कार्यकालमा जनअपेक्षा अनुरूप काम गर्न नसकेका जनप्रतिनिधिहरू कार्यकालको अन्तिममा आएर आफूलाई उद्घाटन र शिलान्यासमा व्यस्त देखाएर जनमत पुन आफ्नो पक्षमा पार्न लागिपरेका छन् । जनमत आफ्नो पक्षमा पार्न र उम्मेदवारको टिकट हत्याउन जनप्रतिनिधिहरूबिच उद्घाटन र शिलन्याशकै लागि आफ्नो गुटका शीर्ष नेताहरू ल्याउने होडबाजी समेत सुरु भएको छ।
धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राईले विभिन्न योजनाको उद्घाटन, शिलान्यास र अवलोकनका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ल्याए। मोरङकै सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव ढकालले पनि राईकै सिको गर्दै यसै साता देउवालाई नै ल्याएर केही योजनाहरूको उद्घाटन र शिलान्यास गराएर आफ्नो प्रशंसा गर्न लगाए।
आफ्नो कार्यकालमा कामभन्दा बढी विवाद र चर्चामा रहेका इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीले पनि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ल्याएर उद्घाटन र शिलान्यासमा समय खर्चिए । राई, ढकाल चौधरी त प्रतिनिधिमूलक पात्र मात्रै हुन। अहिले विभिन्न टुक्रे योजनाहरूको उद्घाटन र शिलान्यासको लागि जनप्रतिनिधिहरू आफू निकटका शीर्ष नेताहरू ल्याएर आफ्नो प्रशंसा बटुल्न खोज्नु पुन पदमा फर्कने दाउ भएको राजनीतिक विश्लेषकको बुझाई छ।
निर्वाचन आयोगले आचारसंहिता जारी गर्ने तयारी गरेसँगै कतिपय जनप्रतिनिधि आफू निकट गुटका शीर्ष नेतालाई गृह नगर भ्रमण गराएर गर्न नसकेको कामको सबै दोष पखाल्ने प्रयासमा देखिन्छन् । यसबाहेक अरू पक्षीय नेताभन्दा आफ्नो प्रभाव बलियो बनाउने र नजिकिँदै गरेको निर्वाचनमा आफ्नै पल्ला भारी देखाउन लागिपरेका छन्।
धरानका राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्मा भन्छन्–'राजनीतिक दलहरूले नारामा सिंहदरबार ढोका सम्म ल्याउने भने, काम गर्न सकेनन्, आफूले गर्न नसकेको असक्षमतालाई ढाकछोप गर्न केन्द्रीय तहका नेताहरूलाई स्थानीय तहमा बोलाइएको हो ।' 
Silaneyas-4Silaneyas-3Silaneyas-1