धरान : इटहरी-२ को नवजागृति टोलमा  गएराती बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले दिएको जानकारी अनुसार इटहरी-२ नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा विस्फोट भएको हो । श्रेष्ठको घरमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ-५ ढोडेनीका २३ बर्षिया शेरजंग गुरुङ घाइते भएका छन् । उनीहरूको कोठा भित्रै गएराती साढे १०  बजे   विस्फोट भएको हो । 

घाइते भएका रविन थापाको आँखामा चोट लागेकोले बिराटनरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ । अर्का शेरजंग गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको हातमा र तिघ्रामा चोट लागेको छ । प्रहरीको अनुसन्धानबाट सुतली बम विस्फोट भएको हुनसक्ने बताएको छ । घटनास्थलबाट प्रहरीले  हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद गरेको छ । 

थापाको डेरामा गुरुङ १५ दिन अघि आएका थिए । उनले ल्याएको झोलामा उक्त विस्फोटक पदार्थ रहेको हुनसक्ने  इटहरी प्रहरीको अनुमान छ । 

डेरामा बरामद भएको हिमाल सुरक्षा परिषद्को पर्चा भर्खरै सशस्त्र युद्धको घोषणा गरेको सङ्गठनको भएको प्रहरीले जनाएको छ । फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो । 

सङ्घीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू यो सङ्गठनले राखेको छ । यो भन्दा अघि झापामा बिर्तामोड र दमकमा बम आतङ्क सिर्जना गरेको भन्दै प्रहरीले ९ जनालाई पक्राउ  गरिसकेको छ । 

विस्फोटको सम्बन्धमा अहिले प्रहरीले अनुसन्धान गरिरहेकोले यसबारेमा अनुसन्धान पछि विस्तृत जानकारी दिने सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।