विराटनगर : जनप्रतिनिधि नेतृत्वमा आएपछि विराटनगर महानगरपालिकाले पछिल्ला वर्ष शिक्षा क्षेत्रमा महत्त्वपूर्ण सुधार एवम् नतिजा हासिल गरेको छ। 
योजनागत कदम अघि बढाएकै कारण शैक्षिक क्षेत्रमा चालिएका धेरै प्रयास सार्थक बन्न पुगेको विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताएका छन् । "धेरै विद्यालयहरूमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन सुरु गरिएको छ । यसले निजी क्षेत्रका विद्यार्थीहरूलाई सामुदायिक विद्यालयतर्फ आकर्षित गर्न बल पुगेको छ," खतिवडाले भने, "आदर्श र पोखरिया माविले अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन् । त्यहाँ बर्सेनि निजी विद्यालय छाडेर सामुदायिकमा भर्ना हुन प्रवेश परीक्षा दिने विद्यार्थीको घुइँचो नै लाग्ने गरेको छ ।" विद्यालयको संरचना निर्माण गर्ने मात्र नभएर महानगरले गुरुकुल र मदरसामार्फत हुने पठनपाठनलाई समेतलाई सुधार गर्ने काम गरिरहेको खतिवडाले सुनाए ।
शैक्षिक लक्ष्य प्राप्ति गर्न अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिँदा बिचैमा सामुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको सङ्ख्या घट्दो अवस्थामा पुगेको र विराटनगरको आदर्श विद्यालय यो क्षेत्रकै उदाहरण बन्न पुगेको विद्यालयका पूर्व प्राचार्य विष्णुप्रसाद लामिछानेले बताए । उनले भने,“आदर्शमा तल्लो तहमा मन्टेश्वरी विधिबाट पढाई हुन्छ । माथिल्लो कक्षामा कम्प्युटर प्राविधिकतर्फको अध्यापनलाई समेत व्यवस्थित गरिएको छ ।” आदर्शमा मात्र अहिले दुई हजार हाराहारी विद्यार्थी पढ्ने गरेका छन् । पोखरियामा पनि उत्तिकै विद्यार्थीको आकर्षण रहेको बताइन्छ ।
विराटनगरको महेन्द्र माविले नयाँ भौतिक संरचनासहित कम्प्युटर शिक्षालाई जोड दिएको छ । अडियो भिजुअल कक्षालाई अगाडि बढाएपछि निजी जत्तिकै गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधार उपभोग गरी पठन पाठन गराउन सकिएको प्राचार्य चन्द्रप्रसाद साहले जानकारी दिए । “कोभिडका कारण दुई वर्ष हामीलाई केही कठिनाइ भयो तर विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड्न हामीले गरेको काम सार्थक बन्न पुगेको छ,” उनले भने । विद्यार्थी दिनेश मण्डलले सरकारी विद्यालयमै सहज ढङ्गले आफूहरूले कम्प्युटर सम्बन्धी शिक्षा लिन पाएको बताएका छन् । भने,“मलाई पहिलेदेखि नै आईटी सम्बन्धी पढ्न मन थियो । निजीमा महँगो शुल्कको कारण समस्या भर्ना हुन सकिन तर सरकारी विद्यालयमै त्यही कक्षा पढ्न पाइने भएपछि यतै आएँ ।”
विराटनगरको जनता मावि परिसरमा बहु प्राविधिक शिक्षालय सुरु भएको विराटनगरका मेयर भीम पराजुलीले बताए । यसबाट प्राविधिक शिक्षामा विपन्नको समेत पहुँच पुगेको दाबी गर्दै उनले भने,“यो पाँच वर्षको अवधिमा हामीले शिक्षा क्षेत्रको भौतिक पूर्वाधारमा सुधार गर्नुको साथै हामीले शिक्षाको गुणस्तर सुधार गर्नको लागि समेत काम गरेका छौँ । यसको परिणामसमेत देखिन सुरु भएको छ ।” 
विद्यालयहरूले समावेशी शिक्षालाई जोड दिँदै प्रारम्भिक बाल विकासका लागि मन्टेश्वरी विधिबाट पठन पाठन गरिरहेको पराजुलीले बताए । धेरै विद्यालयमा खेल सामग्रीसहितका बाल कक्षा सञ्चालन गरेर खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढाउन थप सहयोग पुगेको बताए । भने,"मैले मेरै पारिश्रमिक हस्तान्तरण गरेर दुई वटा आधारभूत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरेको छु । यसबाट सीमान्तकृत समुदायका विद्यार्थीलाई विद्यालयसम्म ल्याउन बल पुगेको छ ।” उनले नगर क्षेत्रकै थप आधारभूत विद्यालयमा पनि नियमित अनुगमनले गरी शैक्षिक गुणस्तर सुधारमा सहयोग गरेको सुनाए । पोखरिया माविको नयाँ भवन निर्माणको कामले गति लिएको र धेरै विद्यालयमा यातायात साधन व्यवस्थापनमा समेत महानगरले काम गरेको उनको दाबी छ । 
सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय हाटखोलाका प्रधानाध्यापक चक्रप्रसाद पोखरेलले महानगरले आधारभूत विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्न गरेको काम निकै सकारात्मक भएको बताए।,“कतिपय विद्यालयमा भने शिक्षक कर्मचारी दरबन्दी मिलान र मागको आपूर्तिको तादम्यता मिलाउन अझ मिहिन ढङ्गले काम गर्न जरुरी छ ।” खेल सामग्रीको व्यवस्थापनमा समेत अझ बढी ध्यान दिनुपर्ने पोखरेलले सुनाए ।