धरान : मोरङको याङसिला स्थित केराबारी कालोपानीमा राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको खेल मैदानमा मङ्गलवार बिहान एकै रङ्गका ट्रेकसुटमा विद्यार्थीहरू सामूहिक नाचगान गरिरहेका थिए । बिचैमा उनीहरूलाई हौस्याउँदै शिक्षिका पनि प्रवेश गरिन् । नेपाली, मैथिल, भोजपुरी गीतको सामूहिक नाचमा सहभागीहरू मनभित्रै बाट उर्लिएको खुसी प्रकट गरिरहे झैँ देखिन्थे ।

त्यहाँ कुनै सांस्कृतिक कार्यक्रम भएको भने होइन । शिक्षालयमा तालिम लिन आएका विद्यार्थीहरू मङ्गलवार लामो हाइकिङबाट फर्केर बजारको सरसफाइ सकेपछि वार्मअपका लागि भेला भएका थिए । उनीहरूको सङ्ख्या ५ सय भन्दा बढी थियो । त्यस्मा प्रदेश १ र २ का ११ जिल्लाका माविहरूबाट आएका कक्षा ७ देखी ९ सम्मका छात्रछात्रा बराबरीका सङ्ख्यामा थिए । 

उनीहरूसँगै अभिभावकका रूपमा आएका शिक्षक, शिक्षिका विद्यार्थीको स्वतःस्फूर्त नाचगान हेरिरहेका थिए । दुई हप्ता भन्दा लामो तालिम सक्नै लागेको खुसीले होला, लिटिलबुद्ध मावि ताप्लेजुङकी शिक्षिका सुरेखा लिम्बु छात्राहरूको हुलमा पसेर नाच्न थालेकी हुन् । उनको प्रवेशसँगै विद्यार्थीले अन्य शिक्षक सहित शिक्षालयका सैनिक अधिकारीहरूलाई पनि समूहमा नाच्न बाध्य बनाए । 

शिक्षालयका प्रमुख सेनानी विमल केसीको कोरोना महामारीका कारण रोकिएको तालिम यसपालि पहिलो पटक सुरु गरिएको हो । यो समूहको एसी तालिमको समापन दीक्षान्त समारोह यसै साता हुँदैछ । विद्यालय र शिक्षालयमा पाउने तालिमबाट विद्यार्थीलाई राष्ट्रियता, सामाजिक उत्तरदायित्व, अनुशासनका सैद्धान्तिक व्यवहारिक ज्ञानले भविष्यमा आउन सक्ने चुनौतीहरुलाई सहज रूपमा सामना गर्दै सच्चा नेपाली, देशभक्त नागरिकको रूपमा नेतृत्वदायी भूमिकाका लागि सक्षम बनाउने छ ।

कुनै बेला राज्य विरुद्ध सशस्त्र द्वन्द्वका लडाकुहरूको क्याम्प रहेको ठाउँ अहिले माध्यमिक स्कुल तहका विद्यार्थीलाई राष्ट्रको सेवाप्रति उत्प्रेरित गर्ने तालिम केन्द्र बनेको हो । द्वन्दकालको अन्तिम तिर याङशिलाको उक्त ठाउँमा माओवादी जनमुक्ति सेनाको छिन्ताङ सुखानी स्मृति ब्रिगेड थियो । धरान–याङशिला बाटो हिँड्न त्यस बेला मानिस डराउँथे । अहिले अधिकांश भाग पक्की सडक भएको छ, भने बाक्लो बस्तीले कालोपानीलाई बजार बनाएको छ ।

Sena-1

दुई दशक अघि सशस्त्र द्वन्द्वको झझल्को दिने चारकोशे जङ्गल जोडिएको ठाउँ बिरानो सुनसान थियो । द्वन्द्वको समाप्ती सँगै नेपाली सेनाको शिक्षालय, इन्जिनियरिङ गण, सर्पदंश उपचार केन्द्र समेत स्थापना भएपछि बसोबास बढेर गुलजार भएको छ । पूर्वका पन्ध्र जिल्लाबाट आउने तालिमे विद्यार्थीहरूले एउटा शान्त, राष्ट्र सेवाको भावना जागृत गराउने ठाउँको रूपमा सम्झना सधैँ गराउने बनेको छ, अहिले याङशिलाको कालोपानी।

माध्यमिक विद्यालय तहका छात्रछात्रालाई राष्ट्रिय सेवा दलको तालिम सञ्चालन गर्ने अवधारणा २०२२ सालमा बनेको हो। २०४६ पछि नेपाली सेनाको ब्यारेक रहेका जिल्लाहरूमा विद्यालयहरूबाट छात्र छात्रा छनौट गरी सेनाबाट राष्ट्रिय सेवा दल तालिम सञ्चालनमा थियो। तर एकीकृत रूपमा आवासीय तालिमको व्यवस्था भने थिएन । पछिल्लो समय नेपाली सेनाद्वारा पूर्वमा रासेद पूर्वी तालिम शिक्षालय स्थापना भएपछि आवासीय तालिम सञ्चालन हुन थलेको हो । 

शिक्षालयका प्रमुख सेनानी केसीका अनुसार कक्षा ७ देखी ९ सम्मका विद्यार्थीलाई तालिका लागि नेपाली सेनाको टोलीले विभिन्न जिल्लाका विद्यालयहरूबाट छनौट गर्दछ। लैङ्गिक समानता अनुसार एक विद्यालयबाट छानिएका १८ छात्र र १८ छात्रालाई विद्यालयमा नै तालिम दिइने व्यवस्था छ। सबै जिल्लामा छानिएकाहरूलाई नेपाली सेनाको शिक्षालयमा सामान्य सैनिक कला देखी नेतृत्व विकासका आवासीय तालिम प्रदान गरिँदै आएको छ ।       

तालिमको सैद्धान्तिक र व्यवहार पाठ्यक्रम कुल १०० दिनको रहेको बताइएको छ। पछिल्लो समय मुलुक कोरोना महामारीबाट ठप्प भएको बेला स्वाभाविक रूपमा एनसीसी तालिम पनि प्रभावित भयो। कठिन परिस्थितिको सामना गर्दै तालिमलाई निरन्तरता दिन कुल एक सय दिनको पाठ्यक्रम लाई ५१ दिनमा परिमार्जन गरी यसपालि तालिम सञ्चालन गरिएको बताइएको छ ।

परिमार्जित पाठ्यक्रम अनुसार यसपालि शिक्षालयमा विद्यार्थीहरूले १६ दिनको  आवासीय तालिम प्राप्त गरेका छन् । तालिमका क्रममा भौगोलिक विविधता, जात–जाति, धर्म, संस्कृति, परम्परा र संस्कार भएका किशोर किशोरीहरूलाई सैनिक पोसाकमा विभिन्न परेड सहितका कार्यहरूमा राष्ट्रको पहरेदारका रूपमा एउटै परिवारका रूपमा राखिने गरिन्छ । यसले उनीहरू बिच नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाई राख्न राष्ट्रिय एकताको भावना बलियो बनाउने विश्वास गरिएको छ। 

तालिमे विद्यार्थी सँगै शिक्षालयमा आएका खोटाङ ऐसेलुखर्क स्थित त्रिभुवन माविका शिक्षक बुद्धप्रसाद घिमिरेले भने ‘तालिमले विद्यार्थीहरूमा ठुलो उत्प्रेरणा दिएको पाएँ ।’ कर्णेल तहका सैनिक अधिकारी र विद्यार्थीहरू एउटै मेसमा पाकेको खाना खाने गरेका छन् । एउटा सैनिकले पाउने तालिम बराबरका कला, अनुशासन देखी विपद् जोखिममा उद्धार कार्यको सिप विद्यार्थीहरूले सिकेका छन् । 

यसपालिको तालिममा सहभागी जिल्लाहरूमा सुनसरी, सिन्धुली, खोटाङ, सङ्खुवासभा, पर्सा, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ, सर्लाही, झापा रहेका छन् । सबै जिल्लाबाट १८ छात्र, १८ छात्रा सहित कुल ५३४ विद्यार्थीको समूहले तालिम प्राप्त गरेको शिक्षालयले जनाएको छ । 

Sena-2