धरान : आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकामा २८ मतदान स्थल र १ सय ७ वटा मतदान केन्द्र तोकिएको छ । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार धरान-१ मा २ वटा मतदान स्थल रहने छ । जसमा सुनसरी उद्योग वाणिज्य सङ्घ र धरान आदर्श बोर्डिङ स्कुल, धरान-२ मा पनि २ मतदान स्थल रहने छ । जसमा पुरानो बालिका स्कुल सिंहदेवी र शिक्षा निकेतन मावि मतदान स्थल तोकिएको छ । 

धरान-३ मा भानु स्मृति मावि मतदान स्थल रहने छ भने धरान-४ मा २ वटा मतदान स्थल तोकिएको छ । पञ्चायत आधारभूत विद्यालय पत्रंवारी र कालिका आधारभूत विद्यालय देबीथानमा मतदान स्थल तोकिएको छ । धरान-५ मा हिमाली मावि देउराली, धरान-६ मा सरस्वती मावि पानवारि, धरान ७ मा सिद्धि नेवा परिषदमा मतदान स्थल तोकिएको छ । 

धरान-८ मा दुई वटा मतदान स्थल तोकिएको छ । जसमा ल्याव्रोटरी मावि र सहिद स्मृति मावि मतदान स्थल तोकिएको छ । धरान-९ मा सुनसरी खेलकुद भवन, धरान-१० मा पञ्चायत मावि, धरान ११ मा ज्ञानोदय माविमा मतदान स्थल तोकिएको छ । 

धरान-१२ मा पनि दुई वटा मतदान स्थल तोकिएको छ । जसमा गीता मन्दिर महेन्द्रपथ र पब्लिक मावि चतरालाईनमा मतदान स्थल तोकिएको छ । धरान-१३ मा लोटस बोर्डिङ स्कुल जिरोप्वाईन्ट, धरान-१४ मा पञ्चायत दन्तकाली माविमा मतदान स्थल तोकिएको छ । 

यसै गरी धरान-१५ मा २ वटा मतदान स्थल तोकिएको छ । जसमा शिक्षा सदन मावि र पूर्वाञ्चल ज्ञानचक्षु रहेका छन् । धरान-१६ मा चन्द्र संस्कृत मावि, धरान-१७ मा पनि दुई वटा मतदान स्थल तोकिएको छ । पञ्चायत मावि रेल्वे र ज्वालामुखी मावि नन्दपुर रहेका छन् । धरान-१८ मा कार्मेल बोर्डिङ स्कुल, धरान-१९ मा किराँतेश्वर मावि बालक चौक र धरान-२० मा २ वटा मतदान स्थल तोकिएको छ । जसमा सुलिकोट आधारभूत विद्यालय सुलिकोट कोकाहा र भालुढुंगा मावि रहेका छन् । 

प्रत्येक मतदान स्थलमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत एक जना, सहायक कर्मचारी २ जना, सहयोगी कर्मचारी १ जना र स्वयंसेवक ३ जना गरी जम्मा ८ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिए । 

५ सय भन्दा कम मतदाता रहेको मतदान स्थलमा सहायक कर्मचारी १ जना मात्रै खटाइनेछ । तर धरानको सबै मतदान स्थलमा ५ सय भन्दा बढी नै मतदाता रहेकोले ८ जना कर्मचारी खटिनेछन् । ८ जनाका दरले धरानका २८ वटा मतदान स्थलमा जम्मा ८ सय ५६ जना निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाउने छ । । 

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार धरानमा २०७४ सालमा ७९ हजार २ सय ८२ जना मतदाता रहेकोमा २०७८ मा २१ हजार ४२ जना थपिएर १ लाख ३ सय  २४ जना मतदाता रहेका छन् । धरानमा पुरुष मतदाता भन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । जस अनुसार पुरुष मतदाता ४७ हजार ४ सय ८ जना र महिला ५२ हजार ९ सय १६ रहेको छ ।