इटहरी : नेपाल पत्रकार महासङ्घ सुनसरीले इटहरीमा महासङ्घको प्रादेशिक आवासीय तालिम केन्द्र भवन निर्माण गर्ने अवधारणा अघि बढाएको छ। इटहरी उपमहानगरपालिकाले महासङ्घलाई बालग्राम चौक उत्तर जाने बाटोमा उपलब्ध गराएको जग्गामा बन्ने भवन निर्माणको तयारी थालिएको हो । महासङ्घलाई प्रदान गरिएको जग्गाको क्षेत्रफल १ कट्ठा ६ धुर छ ।
पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रभात फेरी समापनसँगै निर्माणस्थलको अवलोकनका क्रममा निर्माण समिति संयोजक, महासङ्घका उपसभापति गणेश निरौलाले उक्त जानकारी दिएका हुन । तिन तलाको भवनमा भुईँ तला महासङ्घको सम्पर्क कार्यालय, पहिलो तलामा आवासीय कोठाहरू र माथिल्लो तलामा तालिम, सेमिनार हल रहने डिजाइन नक्सा बनिरहेको उनले बताए।
भवन निर्माण स्थलमा हाल उपमहानगरपालिकाको ५ लाख रुपया अनुदानमा कम्पाउन्ड पर्खाल लगाउने कार्य भइरहेको छ। अग्रज पत्रकार कृष्ण विनोद लम्सालले १ लाख रुपया लागतको कम्पाउन्ड वालमा मुलगेट निर्माण गरिदिने वचन दिएका छन् । भवनको डिजाइन बनेपछि स्थानीय दाताहरूको सहयोग, उपमहानगरपालिका, प्रदेश सरकार, सङ्घीय सरकारको सहयोगमा भवन निर्माणको प्रक्रिया अघि बढाइने बताइएको छ ।
यसअघि इटहरी उपमहानगरपालिका अगाडि भेला भएका सञ्चारकर्मीहरूको प्रभात फेरीले इटहरी बजार परिक्रमा गरी मामा मार्केटमा कोणसभा गरेको थियो । महासङ्घका जिल्ला सभापति जनकऋषि राईको सभापतित्वमा भएको सभामा केन्द्रीय सदस्य अमर खड्काले कोरोना महामारीले नेपाली पत्रकारितालाई ठुलो सङ्कटमा पारेको बताउँदै त्यो सङ्कटबाट माथि उठ्ने चुनौती झेलिरहेको बताए ।
महासङ्घ प्रदेश समितिका सचिव देवेन्द्र कार्कीले अभिव्यक्ति र प्रेस स्वतन्त्रताका लागि सडक आन्दोलनबाट भूमिका खेलेको पत्रकार महासङ्घको भूमिका सधैँ खबरदारी गर्ने रहँदै आएकोले त्यसप्रति सबै प्रतिबद्ध रहन आव्हान गरे । पूर्व जिल्ला सभापति हर्ष सुब्बाले पत्रकार सङ्घ २०५३ सालमा धरानबाट महासङ्घ बनेको स्मरण गराउँदै त्यो इतिहासलाई पनि स्थापना दिवसका दिन सम्झना गर्नुपर्ने बताए । सभा सचिव ध्रुव ढकालले सञ्चालन गरेका थिए ।