इटहरी : नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तरगत इटहरी उपमहानगर समितिले ‘यूथ कङ्ग्रेस कन्क्लेभ’ कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली काँग्रेसका युवा नेताहरूको विचार र भिजनलाई बाहिर ल्याउनको लागि चैत १९ गते शनिवार कार्यक्रम आयोजना गर्न लागिएको हो । 
इटहरीको दुर्गा पार्टी प्यालेसमा शनिवार दिउँसो १ बजे सुरु हुने कार्यक्रममा ७ वटा विषयमा युवा नेताहरूले विचार सम्प्रेषण गर्ने प्रेस युनियन इटहरी संयोजक विनय बाह्रकोटीले बताए । उनका अनुसार नेताहरूको लगाव र क्षमताको आधारमा विषयवस्तु उपलब्ध गराइएको छ । इटहरी उपमहानगरपालिका भित्रको सरोकारका विषयमा युवा नेताहरूले रिपोर्ट प्रस्तुत गर्ने उनको भनाई छ । 
जसमा इटहरीको शैक्षिक उन्नयनको विषयमा युवा नेता प्रदीप केसी, महिला तथा समावेशिताको सवाल: निर्मला चौधरी, प्रविधि मैत्री सहर: मन्दीप भट्टराई, आर्थिक समृद्धिका आधारहरुः विक्रम घिमिरे, सामाजिक लोकतन्त्रका सवालहरुः सुवेक्छुक देवान, व्यवस्थित स्वास्थ्य सेवा: सन्दीप पौडेल र कला साहित्यको विषयमा रङ्गकर्मी सोनु जयन्तीले रिपोर्ट प्रस्तुत गर्ने भएका छन् । 
त्यसपछि वडाका युवा नेताहरूले वडा स्तरीय समस्या राख्ने कार्यक्रम रहेको बाह्रकोटीले बताए । युवाहरूको रिपोर्ट र समस्या पहिचानको आधारमा इटहरी काँग्रेसबाट मेयरका दाबेदार नेताहरूले आफ्नो योजना सहित भनाई राख्ने उनले जानकारी दिएका छन् । हाल देखिएका दाबेदार मध्ये नगर सभापति हेमकर्ण पौडेल, महाधिवेशन प्रतिनिधि भीम बहादुर पौडेल र रोहित प्रसाईँले भनाई राख्ने छन् । 
नेपाली काँग्रेस संसदीय दलका नेता तथा काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतीथ्यतामा हुन लागेको कार्यक्रममा इटहरीका सरोकारका विषयमा छलफल हुने भएको छ ।