धरान : विकास, निर्माण तथा राष्ट्रिय गौरवका योजनामा धरानको पहुँच पुर्‍याउन नेपाली काँग्रेस धरान उपमहानगर समितिको प्रतिनिधि मण्डल काठमाडौँ पुगेको छ ।

सरकार आर्थिक वर्ष २०७८÷०७९ को सङ्घीय बजेट निर्माणको गृहकार्यमा लागेको टोली काठमाडौँ पुग्नुलाई अर्थपुर्णरुपमा लिइएको छ । यसै बेला मुलुकको विकाश निर्माण र आर्थिक नीतिमा स्थानीय तहले सङ्घीय सरकारबाट पाउने भागबन्डा लाग्ने गर्दछ । विकास, निर्माण तथा राष्ट्रिय गौरवका योजनामा बजेट निर्माणकै बेला धरानको पहुँच पुर्‍याउन नेपाली काँग्रेस धरान उपमहानगर समितिको प्रतिनिधि मण्डल बुधवार काठमाडौँ पुगेको नेपाली काँग्रेस धरान उपमहानगरका सभापति श्याम पोखरेलले जानकारी दिए ।

प्रतिनिधि मण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा सहित धरानको विकास, निर्माण र समस्यासँग सम्बद्ध मन्त्रालयका मन्त्री, अधिकारीहरुसंग भेट गरी राष्ट्रिय गौरवका योजना, हाल निर्माणाधीन सङ्घीय, प्रदेश तथा स्थानीय सरकार सम्बद्ध बहुपक्षीय विकास, निर्माणका योजनामा पर्याप्त बजेट विनियोजन गर्न पहुँच पुर्‍याउने काम गर्ने बताइएको छ ।

काँग्रेस उपमहानगर सभापति श्याम पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रदेश सभा १ ‘क’ र ‘ख’ क्षेत्रीय सभापतिदोय अनिल श्रेष्ठ, मुरारी भट्टराई, जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य तथा धरान नगर प्रमुख तिलक राई, महिला नेतृ लक्ष्मी खतिवडा, महासमिति सदस्य सन्तोष विक, महाधिवेशन प्रतिनिधि तुलसी गौतम, सन्दीप श्रेष्ठ लगायत रहेका छन् । टोलीमा जिल्लाका सांसद, मन्त्री तथा काठमाण्डौमा उपलब्ध धरानका सरोकारवालाहरू पनि समावेश हुने सभापति पोखरेलले बताए ।

धरानमा तिनै तहका सरकारको बहुपक्षीय योजनाका रूपमा धरान बसपार्क निर्माणाधीन अवस्थामा छ । औद्योगिक क्षेत्र, सर्दु सेउतीमा पुल लगायतका योजनाहरू छन् । पछिल्लो समय उपमहानगरपालिकाले धरानलाई खेलकुदको सहर बनाउने सहित ४ वाट गुरुयोजना तयार गरेको छ । विजयपुरको धार्मिक, ऐतिहासिक स्थलहरूको पर्यटकीय विकास र संरक्षणका गुरु योजना त्यसमा छन् । सङ्घीय बजेटमा त्यसलाई समावेश गराउन प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराउने सभापति पोखरेलले बताए ।

सर्दु, सेउती कोरिडोर सडक, नयाँ राष्ट्रिय गौरवका योजनाको रूपमा अघि सारिएको धरान–लोती खोला सुरुङ मार्गको अवधारणालाई पनि बजेटमा समावेश गर्न ध्यानाकर्षण गराइने सभापति पोखरेलले बताए । उनका अनुसार बढ्दो सहरीकरणका कारण धरानमा खानेपानी आयोजनाको आपूर्ति व्यवस्थाका समस्याका बारेमा विज्ञ समूहको प्रतिवेदन अनुसार सरकारले तत्काल समाधानको कदम चाल्न माग गरिने छ । 

स्थानीय चुनाव नजिक आएको र प्रदेश तथा सङ्घीय संसद्को चुनाव पनि निकट भएको बेला बन्ने बजेट सबैतिर छरिने हिसाबले नभई दीर्घकालीन परिणाम दिने योजनाहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइने सभापति पोखरेलले बताए । उपमहानगरपालिका मेयर तिलक राई समेत प्रतिनिधि मण्डलका अगुवा रहेकाले धरानको समस्या, विकास, निर्माणका कुरा स्पष्ट रूपमा राखेर प्रतिनिधि मण्डलले सकारात्मक परिणाम लिएर फर्कने उनको भनाई छ ।

आज प्रतिनिधि मण्डलले धरानको खानेपानी समस्याको बारेमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई एक वर्ष अघि बनेको विज्ञ टोलीको रिपोर्ट बुझाएको छ । यसबारेमा आउँदो सोमबार धरान उपमहानगरपालिकाको नेतृत्व गरेर टोलीमा रहेको मेयर तिलक राई , खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी संस्थान र राजनीतिक दलको संयुक्त बैठक बस्ने निर्णय भएको छ । सो बैठकले धरानको खानेपानी समस्याको समाधानको बारेमा छलफल हुने सभापति पोखरेलले कपुरी न्युजलाई बताए ।