धरान :  धरान मेघा हिमालयन कलेजको आयोजना तथा धरान बास्केटबल सङ्घको संयोजनमा सम्पन्न धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा आयोजक धरान मेघा वि, सियोन, एम्स र डिपो स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।

बिहीबार भएको क्वाटर फाइनल खेलमा आयोजक धरान मेघाले टावर टेम्पल स्कुल बिर्तामोडलाई ३८–१२, सियोनले समिट स्कुललाई ४०–२६, डिपोले हिमशिखर तरहरालाई २९–२५ र एम्सले धरान अर्दशलाई ४०–२४ अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन ।  

खेलमा धरान मेघा र टावर टेम्पलले प्रत्येक क्वाटरमा १३–२,७–२,११–६ र ७–२, सियोन र समिटले ११–२, १६–८, ०–९ र १३–७ अङ्क जोडेका थिए । यसै गरी डिपो र हिमशिखर स्कुलले ६–७, ६–१, १४–७ र १३–१० र एम्स र धरान अर्दशले १–०, १०–७, १७–१३ र १२–४ अङ्क जोडेका थिए ।

शुक्रवार हुने सेमिफाइनल खेलमा आयोजक धरान मेघा कलेज विरुद्ध डिपो स्कुल र सियोन विरुद्ध एम्स एकेडेमी बिच प्रतिस्पर्धा हुनेछ ।

धरान ख्रिष्टीयन समाज द्वारा प्रतियोगितालाई सहयोग

बिहीबार देखि सुरु भएको क्वाटर फाइनल खेल सुरु हुन अघि धरान ख्रिष्टीयन समाज द्वारा प्रतियोगिता आयोजकलाई आर्थिक सहयोग गरेका छन् । 

समाजले नगद छब्बिस हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरान ख्रिष्टीयन समाजका अध्यक्ष शामुयल राईले प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा आयोजक धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु, नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, धरान आदर्श कलेजका सह प्राध्यापक एविन राई लगायतको उपस्थिति रहको थियो । चैत्र १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ  ।

Sahayog 1