इटहरी : इटहरी वडा नम्बर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिक सहित मदन वाटिका उद्घाटन भएको छ । 

इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्ण कदको सालिक सहितको वाटिका पूर्व मुख्यमन्त्री भीम आर्चायले उद्घाटन गरेका छन्। उनले समकालीन नेपाली राजनीतिका सबैभन्दा उच्च राजनेता मदन भण्डारीको सालिक निर्माण गरेर इटहरी उपमहानगरपालिकाले प्रशंसनीय कार्य गरेको बताए । 

प्रदेश सांसद लिलम बस्नेतले मदन वाटिका निर्माण सँगै यो क्षेत्रमा बाटोघाटो लगायत विकासका अन्य क्षेत्रमा ध्यान दिन जरुरी रहेको बताए । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले देशका लागि महत्त्वपूर्ण योगदान पुर्याउने राजनेताहरूको सम्झनामा सालिक निर्माण गरिएको बताए ।

उपप्रमुख लक्ष्मी गौतमले बिसनपुरको सो क्षेत्रलाई इटहरीकै दोस्रो तालतलैयाका रूपमा विकास गर्न सकिने बताइन् । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष भगवानलाल साहु,पदम सन्जेल,गोविन कुँवर लगायतले बोलेका थिए ।