धरान : केही दिन अघि इटहरी २ स्थित नवजागृति टोलमा बम विस्फोट भएको घटनामा संलग्न मुख्य योजनाकार सहित ४ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषद्का मुख्य नाइके खगेन्द्र खरेल सहित चार जना रहेका छन् । चैत्र १४ गते राति साढे १० बजे इटहरी–२ नवजागृति टोलका अमित श्रेष्ठको घरमा बम विस्फोट भएको थियो । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका २ बस्ने वर्ष ३२ कि आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा,  उनकै छोरा वर्ष २० को रविन थापा, घटनामा संलग्न नाइके घटनाका मुख्य योजनाकार जिल्ला झापा कन्काइ नगरपालिका ८ लक्ष्मीपुर बस्ने वर्ष ४३ को सञ्जय भन्ने खगेन्द्र खरेल र शेरजङ्ग गुरुङ्ग रहेका छन् ।

पक्राउ पश्चात् आजै सुनसरी जिल्ला अदालतबाट बम विस्फोटन र सङ्गठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र बम विस्फोटन गराई समाजमा आतङ्क फैलाउने तत्त्वहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घटनामा इलाका प्रहरी कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, सङ्घीय प्रहरी इकाई कार्यालय धरान, प्रदेश १ प्रहरी (आरआइटी) समूह र जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।