धरान : नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) सुनसरीको नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रम शुक्रवार एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।  

गत चैत्र १२ गते डिएलए सुनसरीको वार्षिक साधारण सभाबाट लोकतान्त्रिक पद्धतिबाट चयन भएका पदाधिकारीहरूको पदस्थापन, प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता रमेश दाहाल तथा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता हेमराज पोखरेलले नयाँ निर्वाचित पदाधिकारीहरूलाई पदस्थापन, प्रमाण पत्र, खादा, अबिर लगाई शपथ ग्रहण गराएका हुन । 

डिएलए सुनसरीको साधारण सभाबाट नयाँ कार्यसमितिमा चयन भएका अध्यक्ष अधिवक्ता यमनाथ गुरागाईँ, उपाध्यक्ष अधिवक्ता जे.के राई साम्पाङ्ग, सचिव अधिवक्ता अनिता राई (लिम्बु), सहसचिव अधिवक्ता देवी प्रसाद भण्डारी, कोषाध्यक्ष अधिवक्ता किशोर चौधरी, सदस्यमा अधिवक्ताहरू भवानी प्रसाद ओझा, विशाल श्रेष्ठ, विपुल थापा, अनिता साह, किशोर कुमार कोइराला र शम्भु प्रसाद भट्टराईलाई कार्यक्रमको प्रमुख अतिथि, पूर्व अध्यक्ष तथा सुनसरी बारका अध्यक्ष, उपाध्यक्ष समेतका अतिथिहरूले खादा, अबिर लगाई प्रमाण पत्र वितरण गरी पदस्थापन गरेका थिए । 

नव निर्वाचित कार्य समिति पदाधिकारीहरूलाई कार्यकालको शुभ कामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता पोखरेलले मानव अधिकारको सुनिश्चितता, स्वच्छ न्यायालय, अदालत भित्रको विकृति विसङ्गति विरुद्ध अग्रसर भएर लाग्नका लागि तथा निवर्तमान समितिका बाँकी कामहरूको बारेको योजना बनाई भावी रणनीति तय गरी लाग्न औँल्याएका थिए । 

सो कार्यक्रममा नयाँ कार्यसमितिको आगामी दिनको सफलताको कामना व्यक्त गर्दै उपस्थित अधिवक्तहरुले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्नेहरूमा डिएलए सुनसरीका पूर्व अध्यक्ष मणिराज दुलाल, सुनसरी बारका उपाध्यक्ष अधिवक्ता दर्शनकर्ण राई, कोषाध्यक्ष पञ्चदेव मेहता, केन्द्रीय पार्षद् अधिवक्ता शुकदेव चौधरी, अधिवक्ता डेगराज घिमिरे लगायतका वक्ताहरूले आगामी दिनको सफल कार्यकालको शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।