धरान : इटहरी उपमहानगरपालिकाले अटिजम भएका बालबालिका अध्ययन गर्ने भिन्न प्रतिभा बालबालिका हेरचाह समूह इटहरी-९ लाई पाँच लाख मूल्य बराबरका विभिन्न सामाग्री प्रदान गरेको छ । 

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले विभिन्न ३७ प्रकारका सामाग्री भिन्न प्रतिभा बालबालिका हेरचाह समूह इटहरी-९ का अध्यक्ष टङ्क कुमार श्रेष्ठलाई हस्तान्तरण गरे । सुत्ने बेड, ह्वील चेयर, खेल्ने समाग्रीहरु,साइकल, एक्सरसाइज गर्ने समाग्रीहरु, कुर्सी, किताब लगायत प्रदान गरिएको हो । 

इटहरी उपमहानगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत ती समाग्रीहरु प्रदान गरिएको हो । इटहरी उपमहानगरपालिकाले विभिन्न अत्यावश्यक सामाग्री प्रदान गरेकोमा समूहका अध्यक्ष श्रेष्ठले खुसी व्यक्त गरे । अटिजम भएका बालबालिकाका अभिभावकले सञ्चालन गरेको सो अध्ययन समूहमा २२ जना बालबालिका अध्ययनरत छन् ।