चतरा : नेपाल सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हालको पाँच दलीय गठबन्धन तिनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन् । उनले गठबन्धनमा रहेका दलहरूले तिनवटै तहको निर्वाचनमा तालमेल गरेर जाने बताए।
शनिवार सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ को खारखोलामा वडा कार्यालयको भवन समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि रहेका मन्त्री कार्कीले देशलाई विकसित र जनतालाई धनी बनाउने अभियानका वर्तमान सरकार लागि समेत दाबी गरे। उनले १० वर्षमा नेपाललाई एसियाकै धनी राष्ट्र बनाउने सरकारले लक्ष्य लिएको बताए। देश विकास खोक्रो भाषणले नभई आर्थिक स्रोत व्यवस्थापन र योजनाले हुने दाबी गरेका थिए। वराहक्षेत्रको विकासमा सधैँ लागि पर्ने भन्दै यहाँको आवश्यकता टेलिफोन, मोबाइलको टावर, सडकको योजनाहरूलाई बजेट उपलब्ध गराएर काम अगाडि बढाउने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व मन्त्री माननीय मीनकुमार विश्वकर्माले एमसिसि योजना मात्र अनुदान सहयोग भएको जिकिर गरे। एमसिसिको विषयमा गलत प्रचार गरेर जनतालाई भ्रममा पार्ने केही तत्त्वहरू लागि परेको उनले बताए । उनले देश विकास गर्न एमाले असक्षम साबितभई सकेको बताए। त्यस्तै वराहक्षेत्र नगरपालिकाको पाँच वर्षको कार्यकाल हेर्दा यहाँको स्थानीय सरकार चलाउन एमाले पनि असफल भएको दाबी गरे। 
त्यस्तै कार्यक्रमका तिथि पूर्व मुख्य मन्त्री प्रदेश सभा सदस्य भीम प्रसाद आचार्यले स्थानीय तहले जनताको समस्या र समाधानलाई मिलाउने सूत्रको रूपमा काम गर्नपर्ने बताए। उनले आफू मुख्यमन्त्री हुँदा ल्याएको योजना असफल पार्न वर्तमान सरकार लागि परेको आरोप लगाए।
उक्त कार्यक्रममा वडा कार्यालय निर्माण गर्न १२ कट्टा १ धुर  जग्गादान गर्ने  भीम श्रेष्ठ र ट्राफिक कार्यालय बनाउन ३ कट्टा जग्गादान गर्ने शिवकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । पूर्व जनप्रतिनिधि, द्वन्द्व पीडित दीपककुमार श्रेष्ठ, पूर्व वडाका कर्मचारी खरिदार हर्कबहादुर खड्का, वर्तमान वडाका कर्मचारीहरू, वडामा रहेका महिला स्वयंसेविका, विद्यालयका प्रधानाध्यापकहरूलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका सभाध्यक्ष एवम् वडाध्यक्ष सुरेश श्रेष्ठले राजनैतिक प्रतिकुलको अवस्थामा पनि जनताको आवश्यकता र चाहनालाई पूरा गर्न सफल भएको दाबी गरे । भौगोलिक रूपमा बिकट, धार्मिक, प्राकृतिक हिसाबले सम्भावना बोकेको वडालाई नगरले विभेद गरेको आरोप लगाए । योजना लिएर पुग्दा मेयरले भइहाल्छ भन्ने गरेको तर काम भने नगरेको उनले आरोप लगाए ।