धरान : पाचौं अन्तर्राष्ट्रिय भरौल गोल्डकपको उपाधि प्लानीङ ब्वाईज फुटबल क्लब काठमाडौँले जितेको छ।

शनिवार भएको फाइनल खेलमा कालिका स्पोर्ट्स क्लब चितवनलाई ०-२ ले हराउँदै प्लानीङ ब्वाईज काठमाडौँ विजयी भएको हो । 

वराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको ज.डे.ज माध्यमिक विद्यालयको खेलमैदान भएको पाचौं अन्तर्राष्ट्रिय भरौल गोल्डकपमा राष्ट्रिय खेलाडी सहित विभिन्न 'ए' डिभिजन क्लबमा खेल्दै आएका खेलाडीहरूले भरिपूर्ण रहेको खेलमा पहिलो हाफ सम्म दुवै टिम गोलरहित भए पनि दोस्रो हाफको ७३ औँ मिनेटमा प्लानीङ ब्वाईज फुटबल क्लब काठमाडौँका मिलन राईले गोल गर्दै खेलमा पहिलो खाता खोलेका थिए ।

खेलको अतिरिक्त थप समयमा प्लानीङ ब्वाईजका प्रताप राईले थप गोल गर्दै आफ्नो समूहलाई अग्रता दिलाई दोब्बर बनाउँदै प्लानीङ ब्वाईज फुटबल क्लब काठमाडौँको जित निश्चित गरेका थिए ।

जितसँगै प्लानीङ ब्वाईजले ३ लाख ट्रफि मेडल प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको कालिका स्पोर्ट्स क्लब चितवनले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।

फाइनल खेलको म्यान अफ दि म्याच प्लानीङ ब्वाईज फुटबल क्लबका सुमन लामा घोषित भए । उनले नगद ५ हजार रुपैयाँ हात पारे ।

उत्कृष्ट गोलरक्षकमा प्यालिङ्ग ब्वाइज काठमाडौँका मनोज प्रधान, उत्कृष्ट डिफेन्डर प्लानीङ ब्वाईज काठमाडौँका दिनेश राजवंशी, उत्कृष्ट मिडफिल्डर कालिका स्पोर्ट्स क्लबका रूप बहादुर लामा, उच्च गोलकर्ता बिन्दावासिनि फुटबल क्लब विराटनगरका विदेशी खेलाडी फोफोना र उत्कृष्ट प्रशिक्षक प्लानीङ ब्वाईज काठमाडौँका  संचिन्द्र धिमाल घोषित भए । उनीहरूले जनही नगद १०-१० हजार प्राप्त गरे ।

खेलको सर्वोकृष्ट खेलाडी प्लानीङ ब्वाईज काठमाडौँका मिलन राई घोषित भए उनले २५ हजार हात पारे । न्यु स्टार फुटबल क्लब वराहक्षेत्र ५ कालाबन्जारको आयोजना भएको प्रतियोगिताको फाइनल खेलको समापन समारोहका प्रमुख अतिथि प्रदेश नम्बर १ पूर्व मुख्य मन्त्री भीम प्रसाद आचार्य रहेका थिए ।