धरान : केही दिन देखि पम्पमा पेट्रोल आपूर्ति नहुँदा रित्तिएका पम्पहरूमा आज देखि पेट्रोल आपूर्ति हुने भएको छ । 

नेपाल आयल निगमको विराटनगर डिपोमा भारतको सिलगुडीबाट १२ ट्याङ्कर पेट्रोल आइपुगेको छ । यो १२ ट्याङ्कर पेट्रोल कोशी अञ्चल क्षेत्रका पम्पहरूमा वितरण हुने बताइएको छ ।

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबिच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएसँगै कोशी क्षेत्रमा पेट्रोल आपूर्ति सुरु हुने नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य गोपाल श्रेष्ठले बताए । 

सहमति भएर आन्दोलन फिर्ता भएसँगै नेपालबाट पेट्रोल लिन नेपालका गाडीहरू भारत गइसकेको जनाउँदै केन्द्रीय सदस्य श्रेष्ठले भने केही पेट्रोल आज दिनभरिमा कोशी क्षेत्रका पम्पहरूमा आइपुग्छ तर सहज वितरण हुन भने समय लाग्छ । लाइन नलागी सहजरुपमा पेट्रोल पाउन अझै ४,५ दिन लाग्ने श्रेष्ठले बताए । पछिल्लो समय भारतको बरौनीबाट तेल आयत नगरेर सिलगुडीबाट आयत गर्ने नेपाल आयल निगम विराटनगरले निर्णय गरेको र सिलगुडीबाट भने जति तेल लोड नभइरहेकोले पनि पेट्रोल सहजरुपमा आपूर्ति हुन नसकेको हो । 

कोशी अञ्चल क्षेत्रमा करिब १ सय ३० भन्दा बढी पेट्रोल पम्पहरू रहेकोले यी पम्पहरूबाट सहजरुपमा पेट्रोल पाउने वातावरण तत्काल हुन नसक्ने श्रेष्ठको भनाई छ । पेट्रोल नपाए पछि यस अघि २, ३ सयको तेल हाल्नेले अहिले बढी हाल्ने भएको र सबैलाई पेट्रोल नपुग्ने भएकोले सबैलाई सहज हुने गरी तेल भर्न श्रेष्ठले उपभोक्तालाई आग्रह गरेका छन् । अझ यो तेलको अभावमा सबैको सहजताका लागि जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह समेत श्रेष्ठले गरेका छन् । 

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतको माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका व्यवसायीहरूले शुक्रवार डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेपछि निगमले विज्ञप्ति जारी गरेर आन्दोलन फिर्ता लिन अनुरोध गरेको थियो । पम्पहरूमा डिजेल भने वितरण भइरहेको छ ।