विराटनगर : प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डको पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव पनि नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जीनाजंग कार्की (विराटनगर, मोरङ) र सदस्य सचिव हंसराज वाग्ले (ज्यामिरे, ओखलढुङ्गा) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले उनीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रूपमा तोक्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिए ।