पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा त्रिशाली पूजा तथा मेलाको अवसरमा कुम्मायक कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता चैत २८ गतेदेखि सुरु हुने भएको छ ।
फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगितामा भारत सहित आठ टिमको सहभागिता रहने छ । कुम्मायक-१, यासोकस्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री क्लब (निलो) ले ब्रदर्श युनाइटेड क्लब झापाको सामना गर्नेछ ।
दोस्रो खेल चैत २९ गते केएफसी झापा र खेवाङ एफसी ताप्लेजुङबिच हुनेछ । प्रतियोगिताको चौथो खेलमा चैत ३० गते सङ्गम एफसी सुनसरी र केकेएफसी झापा आमेन-सामने हुनेछन् । प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल वैशाख १ गते सयपत्री क्लब (रातो) सिलिगुढी भारतको एसटी ब्रदर्श विरुद्ध मैदान उत्रिनेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार रुपैयाँ र विद्यागततर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैयाँ प्रदान गरिने आयोजक सयपत्री क्लबका अध्यक्ष शिव लाओतीले जानकारी दिए ।
त्रिशाली पूजा तथा मेलाको अवसरमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपसँगै भलिबल र ब्याडमिन्टन प्रतियोगिता, स्रष्टा सम्मान साथै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरिने कुम्मायक-१, का वडा अध्यक्ष एवं पूजा तथा मेला मूल समारोह समितिका अध्यक्ष देवेन्द्र कुमार लाओतीले बताए ।