धरान : उदयपुरको बेलका नगरपालिका ३ मा विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या भएको छ । 

एसइईको तयारीका लागि बिहानै ट्युसन जाँदै गरेकी १६ वर्षीया कविता सुनुवारको जसोधा खोलामा हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको हो ।

स्थानीय हर्कबहादुर बस्नेतले बिहान भैँसी पगा लगाउन लादै गर्दा खोलाको डिलमा लकडीको बिचमा बालिकाको शव देखेका थिए । बिहान ५ बजे नै घरबाट विद्यालय गएकी बालिकाको बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको विस्तृत जानकारी भने दिएको छैन । कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसइईको परीक्षा नजिकिँदै गर्दा तयारीका लागि ट्युसन पढ्न नियमित रूपमा बिहानै जाने पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार मृतक बालिकाको टाउकोमा चोट लागेको देखिन्छ । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या भएको हुन सक्ने प्रहरीको प्राम्भीक अनुसन्धानले देखाएको छ ।

स्थानीय र स्कुले बालबालिकाहरूले दोषीमाथि कारबाही गर्न माग गर्दै रामपुरमा सडक समेत बन्द गरेका थिए भने नगरपालिकामा ढुंगामुढा गरेका थिए । घटनामा संलग्न भएको आशङ्कामा २ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले जनाएको छ । अहिले घटनास्थलबाट मृतकको शव उठाइएको छ ।

Belaka-kanda-1