विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुदलाई अब्बल बनाउनुपर्ने बताएका छन् । 

उनले खेलकुद क्षेत्रको समग्र विकास आवश्यक रहेकोमा समेत जोड दिए । सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको शपथ ग्रहण कार्यक्रममा मन्त्री राईले सो कुरा बताएका हुन् । उनले नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंसराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गति दिने गरी काम गर्न आग्रह गरे । मन्त्री राईले भने,‘ काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल होस् ।’

शपथग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव फडिन्द्र खत्री लगायतको सहभागिता रहेको थियो । 

प्रदेश १ मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी कार्की र सदस्य सचिवमा  ओखलढुङ्गाको ज्यामिरेका हंसराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो ।