धरान : पछिल्लो समय वैदेशिक रोजगारीको आकर्षणसँगै युवाहरूमा लाहुरे भिड्ने रुचि बढेको छ । सहर बजारमा लाहुरे बन्ने सपनामा डोको बोकेर कुदेका दृश्यहरू यसकै उपज हुन । भर्ती पूर्व तालिम लिएमा बेलायत, सिंगापुरै नजुरेमा भारतीय वा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीमा भिड्न सजिलो हुने युवाहरूको ठम्याई पाइन्छ । त्यति पनि नभए खाडीमा सेक्युरिटी गार्डका लागि सहजै होला ।

एसएलसी देखी व्याचलर पढ्दै गरेका युवाहरू ठुलै खर्च व्यहोरेर दुःख गरिरहेका बेला सैनिक पूर्व तालिम लिएर कक्षा ८ की छात्रा खुस्बुु मादेनले हवल्दारको दर्ज्यानी चिन्ह प्राप्त गरेकी छन् । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको ४७ औँ जुनियर डिभिजन तालिममा ताप्लेजुङको लिटिल बुद्ध माविकी सिक्कुम इवासाम लिम्बु सर्वोत्कृष्ट घोषित भई क्याडेट सिनियर अन्डर अफिसरको दर्जा पाएसँगै खुस्बुु र हेना मादेन हवल्दार भएका हुन् । 

उनीहरूलाई मङ्गलवार आयोजित दीक्षान्त समारोहमा नेपाली सेनाको पूर्वी कमाण्ड सेनापति उपरथी खड्काले दर्ज्यानी चिन्ह प्रदान गरे । सैनिक पूर्व तालिमको १०० दिने कोर्समा छात्रतर्फ जाल्पा मावि खोटाङका विनोद तामाङले कम्पनी जुनियर अन्डर अफिसरको दर्ज्यानी चिन्ह पाए । विद्यावर्धन मावि पाँचथरकी नेहा राईले वेस्ट स्पिकर क्याडेटको उपाधि हासिल गरिन् । ४७ औँ जुनियर डिभिजनमा ११ जिल्लाका १५ विद्यालयका कुल ५३८ विद्यार्थीले तालिम लिएका छन् ।  

NCC-2

एनसीसीको जुनियर डिभिजनमा कक्षा ७ देखी १० सम्मका विद्यार्थीलाई तालिम दिइन्छ । कक्षा ११ र १२ तहका विद्यार्थीलाई सिनियर डिभिजनमा सहभागी गराइन्छ । तालिमका लागि कुनै शुल्क लाग्दैन । मोरङको याङशिला कालोपानी स्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा हुने आवासिय तालिममा सैनिक पोसाक, खेलकुदका पोसाक, बुट लगायतका आवश्यक बन्दोबस्तीका सामान सेनाले उपलब्ध गराउँछ । दैनिक खाजा, खाना सैनिक मेसमा चल्छ ।

हवल्दार खुस्बुुले भनिन् ‘हतियार चलाउनु बाहेक सबै तालिम सेनाकै जस्तो थियो ।’ स्कुलमा पनि तालिम लिएको उनले शिक्षालयमा बिहान ४ बजे देखी चल्ने तालिमका बारेमा सुनाइन् । न खर्चको चिन्ता न खानको चिन्ता, स्कुलबाट छनौट भएदेखि लिएको तालिमले उनलाई नयाँ अनुभव दिएको छ । सानै उमेर भएकोले मात्र कक्षा ११–१२ की भएकी हुँदो त उनी लाहुरे भिड्न तयार भएकी हुन्थिन् । यत्तिकै तालिम लिन सहरमा पूर्वाधार विहीन तालिम केन्द्रहरूले सडक सडक युवाहरूलाई दौडाई रहेका छन् । सफल होलाकी भनेर अभिभावकहरूले ऋण पान गरी खर्च जुटाइरहेका छन् ।

निजी तालिम केन्द्रहरूमा तालिम लिँदा कम्तीमा पनि ४० हजार खर्च गर्नुपर्ने अवस्था आउँछ । धरानमा निकै सफल मानिएको गोर्खा कम्पनीका सञ्चालक प्रेम मुकारुङले भने ‘हामीले दिने तालिम बन्दुक चलाउनु बाहेक सैनिकका लागि आवश्यक शारीरिक फिटनेस, अनुशासन र आत्मविश्वास सबै कलाहरू हुन्छन् ।’ भर्ती नसके सम्म ३ देखी ७ महिना सम्म तालिम चल्ने उनको भनाई छ ।    

सेनाको राष्ट्रिय सेवा दल र लाहुरे भर्ती तालिमका बिच प्राविधिक बाहेक धेरै भिन्नता भने छ । शिक्षालयका प्रमुख सेनानी विमल केसी भन्छन् ‘तालिमबाट राष्ट्रियता, सामाजिक उत्तरदायित्व अनुशासनका सैद्धान्तिक, व्यवहारिक ज्ञान र भविष्यमा आउने चुनौतीहरूलाई सामना गर्ने देशभक्तिपूर्ण नागरिक दायित्वको भूमिकाको लागि विद्यार्थीलाई सक्षम बनाउने उद्देश्य पनि छ ।’

उनले भने ‘सैनिकमा हुनुपर्ने गुण पूर्व तालिम प्राप्त विद्यार्थीहरूमा हुने भएकाले उनीहरूलाई सेना, प्रहरीको भर्तीमा प्राथमिकता दिइनु स्वाभाविक हुन्छ ।’ हरेक क्षेत्रमा कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने नयाँ पुस्ताका लागि विद्यालय तह देखी नै एनसीसी तालिम बहुउपयोगी हुने प्रमुख सेनानी केसीको भनाई छ । सिनियर डिभिजन तालिममा सहभागी विद्यार्थीहरूका लागि  सुरक्षा क्षेत्रमा राम्रो अवसर पनि बन्न सक्छ । 

NCC-3

धेरै विद्यालय कलेजहरूले विद्यार्थीको यो अवसरप्रति चासो राखेको भने देखिन्न । प्रमुख सेनानी केसीका अनुसार कुनै पनि शैक्षिक संस्था एनसीसी तालिममा सहभागी हुन सजिलो छ । विद्यालयले जिल्ला शिक्षा कार्यालयमा तालिममा सहभागी हुने आशयको निवेदन दर्ता गराए पुग्छ । बर्सेनि खुल्ने तालिम कार्यक्रमका लागि निवेदन परेका विद्यालयहरूमा नजिकको गण, गुल्मको टोलीले विद्यार्थी छनौट गरी स्थलगत तालिम सञ्चालन गर्दछ । 

तिनै विद्यालयहरूबाट आवासीय तालिमका लागि विद्यार्थीहरू शिक्षालयमा आउँछन् । तालिमको कुल १०० दिनको पाठ्यक्रम मध्ये ७९ दिन नजिकका सैनिक गण, गुल्मका टोलीले विद्यालयमानै तालिम सञ्चालन गर्दछ । २१ दिन आवासीय क्लोज क्याम्पको तालिम शिक्षालयमा सञ्चालन गरिँदै आएको छ ।  

२०२२ साल देखी नै राष्ट्रिय सेवा दल तालिमको अवधारणा नेपालमा लागु भएता पनि अहिले आएर नयाँ पुस्ताका लागि बहुउपयोगी देखिएको हो । पछिल्लो समय नेपाली सेनाको आधुनिकीकरणसँगै नागरिक तहमा सहकार्य गर्न एनसीसीले सहज बनाएको छ । यसअघि आवासीय तालिम केन्द्रीय तह काठमाण्डूमा मात्र सञ्चालन हुन्थ्यो । नेपाली सेनाले राष्ट्रिय सेवा दललाई देशव्यापी पहुँचमा पुर्याउन ४ ठाउँमा तालिम शिक्षालय स्थापना गरेपछि अहिले सबै जिल्लाका विद्यालय यसको पहुँचमा पुगेको प्रमुख सेनानी केसीले बताए ।

मोरङको याङशिला कालोपानी स्थित शिक्षालय २०७४ सालमा स्थापना भएको हो । यहाँ प्रदेश १ र २ का १७ जिल्लाका विद्यार्थीहरू आउँछन् । यसैगरी नेपालगन्जको कोहलपुर कोशीला नगर, महोत्तरी र नवलपरासीको हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम शिक्षालय सञ्चालनमा छ ।

NCC-1