धरान : पछिल्लो समय देशैभर पेट्रोल अभाव भइरहेको बेलामा फेरी नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको हिजो बसेको बैठकले गए राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ कायम गरेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ।

निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । मूल्य बढेपछि हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य पनि प्रतिकिलोमिटर ५० अमेरिकी डलर बढाएको छ। मूल्य बढाएपछि हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोमिटर १ हजार ५४५ अमेरिकी डलर पुगेको छ ।

निगमले खाना पकाउने (एलपी) ग्याँसको मूल्यसमेत समायोजन गरेको छ । समायोजनपछि ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ६०० रुपैयाँ पुगेको छ।

नयाँ मूल्य समायोजन पश्चात् पनि मासिक ९ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३३ अर्ब रुपैयाँ घाटा बेहोरिएको निगमले जनाएको छ ।

Bigyapti