धरान : धरानका सामुदायिक विद्यालयहरूलाई प्रविधिमुखी शिक्षण उन्मुख गराउन पूर्वाधार कार्यक्रमबाट धरान उपमहानगरपालिकाले शिक्षकहरूलाई ल्यापटप प्रदान गरेको छ । 

उपमेयर मञ्जु भण्डारीले सोमवार धरान–१४ स्थित दन्तकाली माविका ५ जना शिक्षकको लागि ल्यापटप प्रदान गरेर यसको सुरुआत गरेका हुन् ।

उक्त अवसरमा उनले शिक्षणलाई प्रविधिमैत्री बनाउन शिक्षकहरूलाई ल्यापटप कार्यक्रमलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताइन् । उपमेयर भण्डारीले भनिन् ‘धरानका विद्यालयहरूले पूर्वाधारका रूपमा प्रविधिलाई पनि प्राथमिकतामा राखे उपमहानगरपालिका सहयोग गर्न तयार छ ।’ धरानमा पहिलो पटक शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो ।

दन्तकाली माविले विद्यालय पूर्वाधार विकास कार्यक्रमका लागि उपमहानगरपालिका सँग शिक्षकहरूलाई ल्यापटपको माग गरेअनुसार बजेट स्वीकृत भएको शिक्षक श्रीप्रसाद कोइरालाले बताए । चालु आवमा पूर्वाधारका लागि उक्त माविलाई २ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

बजेटमा अपुग रकम विद्यालयले व्यहोर्ने गरी ५ थान ल्यापटप खरिद गरिएको बताइएको छ । उपमहानगरपालिका कार्यालयमा एक संक्षिप्त कार्यक्रमका बिच उपमेयर भण्डारीले ल्यापटपहरू शिक्षक कोइरालालाई हस्तान्तरण गरेकी हुन् । सो अवसरमा वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा पनि उपस्थित थिए ।

दन्तकाली माविले यसपालि देखी विद्यालयका सबै शिक्षकहरूलाई ल्यापटप प्रदान गर्ने कार्य योजना बनाएको छ । वार्षिक कार्यक्रम अनुसार पहिलो पटक ५ जना शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो । यसबाट विद्यालयको शिक्षण तथा विद्यार्थीहरू प्रविधिमुखी बन्ने विश्वास विद्यालयले गरेको छ ।