इटहरी : इटहरी उपमहानगरपालिका ४ मा 'किराँत याक्थुङ चुम्लुङ' भवनको शिलान्यास भएको छ । लिम्बु जातीहरूको संग्राहलय बनाउने तयारी सहित भवनको शिलान्यास भएको हो ।
चैत २३ गते बुधवार प्रदेश सांसद सर्वध्वज साँवाको प्रमुख आतीथ्यतामा भवन शिलान्यास भएको छ । सावा सहित नेकपा एमाले इटहरीका अध्यक्ष यामकुमार सुब्बा र वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले समेत कार्यक्रममा सहभागिता जनाए।
शिलान्यास कार्यक्रममा बोल्दै सावाले यो भवन लिम्बु जातीको एक ऐतिहासिक धरोहरको रूपमा स्थापित हुने धारणा राखे । पछिल्लो समय आफ्नो कला संस्कृति र भाषा लोप हुँदै गएको स्मरण गराउँदै उनले भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण प्रति सम्मान प्रकट गरे।
स्थानीय धनकुमारी लिम्बुले आफ्ना स्वर्गीय माता पिताको नाममा दश लाख रुपैयाँ दिएकी छिन् । बा-आमाको सम्झनामा संस्कार र संस्कृति जोगाउने ठाउँमा लगानी गरेको उनले बताइन् । आफूले संस्थागत हितको लागि लगानी गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले त्यसको संरक्षण र संवर्द्धनमा लाग्नुपर्ने धारणा राखिन् । 
सुविधा सम्पन्न सेमिनार सहित लिम्बु जातीको ऐतिहासिक संग्रालय भवन निर्माणको लागि इटहरी उपमहानगरपालिकाले समेत सहयोग गर्ने भएको छ।