झापा : झापाको गौरादह नगरपालिकाको एकै वडामा वडाध्यक्ष पदको उम्मेदवार बन्नका लागि नेकपा एमालेबाट ९ जना आकाङ्क्षी देखिएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट बुधवार उम्मेदवार सिफारिस गर्ने कार्यक्रम थियो । सो क्रममा गौरादह नगरपालिकामा भने एउटै वडामा ९ जनासम्म आकाङ्क्षी देखिएपछि वडा कमिटी र गाउँ कमिटीको भेला पूर्ण बैठकमा गोप्य मतदान समेत गरिएको छ । 

गौरादह नगरपालिका वडा नम्बर ७ मा वडाध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेबाट वर्तमान वडाध्यक्ष बलराम खरेल, अमर सिवाकोटी, राजेन्द्र सुबेदी, यज्ञ भेटवाल, मुकुन्द भट्टराई, देवेन्द्र सिवाकोटी, टिका घिमिरे, बलबहादुर तामाङ र सुदिप अधिकारी आकाङ्क्षी हुन् । 

सो वडामा वर्तमान वडाध्यक्ष बलराम खरेलको पक्षमा जनमत देखिए पनि उनले यस पटक वडाध्यक्षको टिकट पाउने सम्भावना न्यून रहेको श्रोतले बतायो । 

एउटा वडामा सर्वसम्मत अन्यमा आकाङ्क्षी धेरै

उम्मेदवार सिफारिस भए अनुसार गौरादहका ९ वटा वडा मध्ये वडा न १ मा मात्र सर्वसम्मत उम्मेदवार छानिएका छन् । 

वडा नम्बर १ मा वर्तमान वडा अध्यक्ष नगेन्द्र भण्डारी पुनः वडाध्यक्षको उम्मेदवारको लागि सर्वसम्मत चयन भएका हुन् । भण्डारी लगायत अन्य ४ जनै सदस्यहरू सर्वसम्मत सिफारिस गरिएको छ । सदस्यहरूमा खुल्लातर्फ केशरबहादुर भुजेल, देवराज राई, महिला सदस्य अन्जु निरौला र दलित महिला लक्ष्मी देवी बिक रहेका छन् ।

यस्तै, वडा न. २ मा वडा अध्यक्षमा डिल्ली काफ्ले र खगेन्द्र गिरिको नाम सिफारिस भएको छ भने डिल्ली काफ्लेको बढी सम्भावना रहेको बताइएको छ । त्यस्तै वडा नम्बर ३ मा वर्तमान अध्यक्ष गजेन्द्र घिमिरे, दिलीप भण्डारी र अम्बिका भण्डारी दाहालको नाम सिफारिस भएको छ । यस वडामा गजेन्द्र घिमिरे नै दोहोरिने प्रबल सम्भावना देखिएको श्रोतले बतायो ।  

त्यस्तै वडा न. ४ मा तुलसी कार्की सहित ४ जनाको नाम सिफारिस गरिएकोमा कार्कीकै पल्ला भारी देखिएको छ । वडा न. ५ मा जगन्नाथ खनाल, कपिलमणि काफ्ले र राम प्रसाद सङ्ग्रौलाको नाम सिफारिस भएको छ ।  

त्यतै वडा न. ६ मा प्रकाश पराजुली, गणेश कार्की, हरि ओझाको नाम सिफारिस भएकोमा प्रकाश पराजुलीको पल्ला भारी रहेको  श्रोतले बताएको छ ।  तस्तै वडा न. ७ मा ९ जनाको सिफारिस रहेको छ । 

वडा न. ८ मा वर्तमान वडाध्यक्ष भूमिराज पोख्रेल र डिल्ली राजवंशीको नाम सिफारिस गरिए पनि पोख्रेल पुनः एक कार्यकाल दोहोर्‍याउन पाउने भाग्यमानी मानिएका छन् ।  त्यस्तै वडा न. ९ मा उपेन्द्र निरौला र राजेन्द्र पोख्रेलको नाममा सिफारिस परेको छ ।  यस वडामा निरौलाकै सम्भावना बढी देखिएको बताइएको छ ।