धनकुटा  : महालक्ष्मी नगरपालिका, धनकुटा र महालक्ष्मी नगरपालिका, ललितपुरबिच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको  कार्यालयमा आयोजित कार्यक्रममा दुवै नगरका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख परशुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै, महालक्ष्मी नगरपालिका ललितपुरको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, उपप्रमुख निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले हस्ताक्षर गरेका छन् । दुई नगरपालिकाबिच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, सामाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तरसम्बन्ध कायम गर्ने, एक आपसमा असल अभ्यास आदानप्रदान गर्ने लगायत विषय समझदारी पत्रमा उल्लेख छन् ।
कार्यक्रममा महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख नेपाल र उपप्रमुख अधिकारी तथा महालक्ष्मी नगरपालिका, ललितपुरको तर्फबाट नगर प्रमुख श्रेष्ठ, उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखे । उनीहरूले भगिनी सम्बन्धले दुवै नगरपालिकाको पर्यटन प्रवर्द्धन, सामाजिक, सांस्कृतिक, व्यापारिक, आर्थिक र संस्थागत विकास लगायतमा अन्तरसम्बन्ध कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा दुवै नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि लगायत पनि सहभागी थिए । सोही अवसरमा महालक्ष्मी नगरपालिका, ललितपुरको नगर गान पनि सार्वजनिक गरियो । त्यस्तै, महालक्ष्मी नगरपालिकाको प्रयास र उपलब्धि पुस्तक विमोचन तथा महालक्ष्मी पत्रिका विमोचन पनि गरिएको छ ।