झापा : नेपाल पत्रकार महासङ्घ झापा शाखाद्वारा प्रकाशित २०७९ सालको भित्ते पात्रो सार्वजनिक भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे र महासङ्घ प्रदेश १ का अध्यक्ष लीला वल्लव घिमिरेले संयुक्तरुपमा भित्ते पात्रो सार्वजनिक गरेका हुन् ।

विराटनगरमा भएको पत्रकार महासङ्घ प्रदेश १ को प्रदेश सम्मेलन उद्घाटन समारोहमा पत्रकार महासङ्घ झापा शाखाद्वारा प्रकाशित भित्ते पात्रो सार्वजनिक गरिएको हो ।

पत्रकार महासङ्घ झापा शाखाले विभिन्न महत्त्वपूर्ण विवरण संलग्न गरी छ पृष्ठको वार्षिक भित्ते पात्रो प्रकाशन गरेको हो । महासङ्घले वर्तमान कार्यसमिति, पूर्व अध्यक्षहरू, झापाबाट निर्वाचित राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्य र प्रदेश १ मा झापाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण संलग्न गरिएको छ ।

त्यस्तै महासङ्घ झापा शाखाका दुई सय ६० जना सदस्यको विस्तृत विवरण, पत्रकार आचारसंहिता अन्तर्गत पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको विवरण भित्ते पात्रोमा समावेश गरिएको महासङ्घ कार्यसमिति सदस्य सन्तोष शर्माले जानकारी दिए ।

महासङ्घ झापा शाखाले पत्रकार आचारसंहिता जागरण अभियान अन्तर्गत भित्ते पात्रोमै आचारसंहिताको महत्त्वपूर्ण  अंश समावेश गरिएको छ । भित्ते पात्रो सबै सदस्य र सञ्चारमाध्यममा उपलब्ध गराइने कार्यालय सचिव अनुषा चुडालले बताइन् ।

विभिन्न ११ बुँदे घोषणा जारी गर्दै सम्पन्न महासङ्घको प्रदेश सम्मेलनमा झापा शाखाबाट अध्यक्ष एकराज गिरी, उपाध्यक्ष द्वय केशव भट्टराई र सुशीला सङ्ग्रौला, सचिव डिकेश लामा, कार्यसमिति सदस्य विनोद पाण्डेको सहभागिता रहेको थियो ।