धरान : चैत्र २६ गते देखि हुने भनिएको २३ औ अन्तर्राष्ट्रिय आमन्त्रणा बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता यस पटक नहुने भएको छ । 

चैत्र २६ गते देखि वैशाख ३ गतेसम्म आयोजना गर्ने यस भन्दा अघि आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको थियो । तर स्थानीय निर्वाचनको सङ्घारमा पुगेको र सोचे जस्तो आर्थिक सहयोग रकम बजारबाट प्राप्त हुन नसक्दा प्रतियोगिता नै स्थगित गर्नुपरेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

गोल्डकपको ८० प्रतिशत भन्दा बढी रकम दाताहरूको आर्थिक सहयोगबाट प्राप्त हुने र सोही अनुरूप २३ औँ बुढासुब्बा गोल्डकपको लागि हाम्रो सहयोगीहरू समक्ष आर्थिक सहयोगको लागि पत्राचारहरू गरिसकेका थियौ । तर, २०७९ साल वैशाख ३० गते हुने स्थानीय चुनाव र कोरोना महामारीको असर आदि कारणले गर्दा हामीले अपेक्षा गरे अनुरूपको सहयोग रकम बजारबाट प्राप्त हुनसक्ने अवस्था हामीले पाएनौ ।

यस्तो आर्थिक कठिनाइको बिच प्रतियोगिता आयोजना गर्न पनि सजिलो नहुने हामीले महसुस गर्‍यो । तसर्थ, २३ औँ संस्करणलाई केही समय पछि सार्न बाध्य भएका छौ विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ अगावै सम्भव भएसम्म चाँडो भन्दा चाँडो प्रतियोगिता आयोजनाको अर्को मिति घोषणा गर्ने विज्ञप्तिमा प्रतिबद्धता जनाइएको छ ।

यस भन्दा अघिको संस्करण पनि कोरोना महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो । 

Bigyaptidfc