विराटनगर ; प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्साम सहित सदस्यहरूलाई सपथ गराएका हुन् ।

शुक्रवार उपाध्यक्ष लक्सम सहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अन्जु खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । सो अवसरमा नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई मुख्यमन्त्री राईले नियुक्ति पत्र पनि प्रदान गरेका छन् । चैत्र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरू प्रदेश योजना आयोगमा नियुक्त भएका हुन् । सपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, कर्मचारी, पत्रकार सहित योजना आयोगका नवनियुक्त पदाधिकारीका आफन्तहरूको उपस्थिति रहेको थियो । 

यसैबिच, शपथग्रहण कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्ने क्रममा प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले आयोगका नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई बधाई दिए । उनले संसद् र सरकारको समयावधि अब छोटो भएकाले कति पनि समय खेर नफाली आफ्नो सम्पूर्ण क्षमताका साथ तोकिएको जिम्मेवारी पूरा गर्न आयोगका नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई आग्रह गरे । मुख्यमन्त्री राईले सङ्घीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको संसद्, झन्डै सोही प्रकारको सरकारका सामु थुप्रै चुनौती रहेको स्मरण गर्दै यस प्रणालीप्रति जनतालाई निराश हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने आवश्यकता औँल्याए ।

Sapath-1 1