इटहरी : नेपाली काँग्रेस मोरङले गठबन्धन गर्ने अधिकार स्थानीय समितिलाई नै दिने भएको छ। केन्द्रीय समितिले गरेको निर्देशन अनुसार गठबन्धन अगाडी बढाइने भएको हो । 
शुक्रवार विराटनगरका बसेको जिल्ला समितिको बैठकले केन्द्रीय निर्णयलाई कार्यान्वयन गराउने विषयमा छलफल भएको सभापति डिग बहादुर लिम्बुले बताए । सोही क्रममा शनिवार स्थानीय समिति, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय समितिका सभापतिहरू सँग छलफल गरिने उनले जानकारी दिए । 
गठबन्धन गर्ने नगर्ने विषयमा आवश्यकताको आधारमा स्थानीय तहको समितिले नै निर्णय गर्ने उनको भनाई छ । जिल्ला समितिले समन्वयात्मक भूमिका मात्र निर्वाह गर्ने भन्दै उनले जबाफदेहीपूर्ण ढङ्गले अगाडी बढ्ने धारणा राखे । 
सोही बैठकले निर्वाचन परिचालन समिति गठन गरेको छ । महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरू, प्रदेश क्षेत्रीय सभापति, पालिका सभापति, भातृ तथा सुवेच्छुक संस्थाका सभापतिहरू सहितको परिचालन समिति गठन गर्ने निर्णय भएको लिम्बुले जानकारी दिए । 
साथै नेपाली काँग्रेसको विधानको धारा १२ (८) (ख) बमोजिम कार्यसम्पादन समिति गठन गरेको छ । सभापतिले सिफारिस गरेका २५ जनाको नाम जिल्ला समितिले अनुमोदन गरेको हो । 
त्यससँगै काँग्रेसले जिल्ला संसदीय समिति गठन गरेको छ । जसमा जिल्ला सभापतिको स्वतः संसदीय समितिको सभापति हुने प्रावधान छ । जिल्लाका पदाधिकारीहरू पदेन सदस्य रहने गरी रमानन्द शाह, रञ्जन थापा, सुशील कोइराला, सुशीला कार्की र मञ्जु श्रेष्ठ सम्मिलित समिति गठन भएको छ ।