धरान : नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) धरान उपमहानगर समितिको ५ औ नगर अधिवेशन शनिवार सम्पन्न भएको छ।
धरान-१५ को सदन सभा हलमा सम्पन्न अधिवेशनलाई प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधान सभाका सदस्य किरण राईले मैनबत्ती बालेर उद्घाटन गरे। अधिवेशनले नवीन केसीको अध्यक्षतामा ७९ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ। 
सोमबार नयाँ कार्यसमितिको बैठक बसेर बाँकी पदाधिकारी टुङ्गो लगाइने वाईसिएल नेपालका पूर्व केन्द्रीय सदस्य एवम् निर्वाचन युवा परिचालन समितिका कमान्डर पूर्ण बहादुर भुजेल (चिन्तन) ले जानकारी दिए। सङ्गठनको विधान अनुसार एक अध्यक्ष, तिन उपाध्यक्ष, एक सचिव, सात जना सहसचिव र एक कोषाध्यक्ष सहित १३ सदस्यीय पदाधिकारी रहने पूर्व केन्द्रीय सदस्य चिन्तनले जानकारी दिए।
वाईसिएल धरानका निवर्तमान अध्यक्ष विजय लामाले बन्द सत्र सुरु भए पछि यस अघिको पुरानो समिति विघटन भएको घोषणा गरे। नयाँ कार्यसमितिलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किरण राई, प्रदेश नम्बर १ का सदस्य एवम् सुनसरी इन्चार्ज मुक्सामहाङ मेन्याङ्वो, प्रदेश न १ का सदस्य एवम् सुनसरी सह-इन्चार्ज अइन्द्र विक्रम बेघा, पार्टीका धरान नगर अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज),  नगर इन्चार्ज चोत्लुङ, वाईसिएल केन्द्रीय सदस्य भुवन याक्खा, प्रेस सेन्टरका केन्द्रीय सदस्य गङ्गा बराल लगायतले बधाई तथा शुभकामना दिए।
कार्यक्रममा माओवादी केन्द्रका नेताहरू साबित्रा चौलागाई, लक्ष्मी प्रधान, उद्धव लिम्बू, जीवन राई, विदुर महत, खेम रनपहेली लगायतको उपस्थिति रहेको थियो। वाईसिएलको नयाँ कार्यसमितिलाई पार्टीका केन्द्रीय सदस्य किरण राईले शपथ ग्रहण गराए।
अधिवेशन हुनु अघि वाईसिएल धरानको बृहत् मोटरसाइकल र्‍याली समेत सम्पन्न गरेको थियो। र्‍याली सिंहदेवी चोकबाट छाता चोक, भानु चोक, देशिलाईन, सदन रोड हुँदै सदन सभा हल पुगेर समापन भएको थियो।