धरान : बाह्रौँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको सगरमाथा फुटबल क्लबले जितेको छ । 

शनिवार इटहरी रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि उचालेको हो । निर्धारित समयको खेलमा गोल रहित बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट निर्णय लिइएको हो । 

ट्राई बेकरमा आर्मीका तर्फबाट टेकबहादुर बुढाथोकी, विकास खवास र विवेक बस्नेतले गोल गरे । गौतम श्रेष्ठले गरेको प्रहार सगरमाथाका गोल किप्परले रोके भने सन्तोष तामाङको प्रहार पोस्ट बाहिर गयो । सगरमाथाका लागि अशोक खवास, आशिष् लामा, सत्यम शर्मा र मिलन राईले गोल गर्दा गोल किप्पर पिसोको प्रहार पोस्ट बाहिर गयो । खेलको म्यान अफ द म्याच आर्मीका विश्वास चौधरी घोषित हुँदै नगद दस हजार हात पारे । 

यस्तै, वेस्ट गोल्ड किप्पर सगरमाथाका पिसो घोषित हुँदै नगद पन्ध्र हजार हात पारेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मीका टङ्क बस्नेत घोषित हुँदै यामाहाको स्कुटर हात पारे । यस्तै, वेस्ट डिफेन्डर त्रिभुवन आर्मीका विकास खवास, वेस्ट मिल्ड फिल्ड सन्तोष तामाङ घोषित भए ।

सगरमाथाका आशिष् लामा वेस्ट फरवार्ड र युबिन गुरुङ उत्कृष्ट कोच घोषित भए । उनीहरूले जनही नगद पन्ध्र हजार पाए । हाइस्कोरर गर्ने खेलाडी मनाङ–मर्स्याङ्दीका आफिज ओलावाले र सगरमाथाका आवास लामिछाने घोषित भए । उनीहरूलाई नगद दस–दस हजार पाए ।

यस्तै, उदयीमान खेलाडी राष्ट्रिय जागृति क्लब इटहरीका मनिष भण्डारी घोषित हुँदै ४० इन्चको एलइडी टिभी प्राप्त गरे । उपाधि विजेता सगरमाथा क्लबले ७ लाख र उपविजेता आर्मीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । चैत १९ गतेबाट सुरु भएको प्रतियोगितामा दुई विदेशी सहित ८ टोलीको सहभागिता रहेको थियो ।