झापा : नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौती’ विषयक दुई दिने प्रशिक्षण झापाको कनकाई–१ दुर्गापुरमा आज सम्पन्न भएको छ ।

कनकाई नगरपालिका कार्यक्षेत्र भएका सहित झापा जिल्लाका क्रियाशील ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको प्रशिक्षणको सहजीकरण खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले गरेका थिए ।

पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासङ्घका पूर्व अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्ययतामा भएको प्रशिक्षण समापन समारोहमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि आचार्यले पत्रकार मिथ्या सूचनाबाट बच्नुपर्ने र चुक्न नहुने बताए । उनले पत्रकारहरू अध्ययनशील र समाचार खोजमूलक हुनुपर्नेमा जोड दिए । कनकाई नगरपालिकाको सहयोगमा महासङ्घले उक्त प्रशिक्षण सञ्चालन गरेको हो ।

कार्यक्रममा महासङ्घका राष्ट्रिय परिषद् सदस्य तथा फोनिजका नेता दिपीन राई, प्रेस चौतारीका प्रदेश सदस्य राम निरौला, प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साइ, प्रेस सेन्टरकी जिल्ला उपाध्यक्ष होमकुमारी कुमाल सुष्मा, स्वतन्त्र पत्रकार सङ्घका जिल्ला अध्यक्ष नरेन्द्र ढकालले मन्तव्य राख्दै अत्यावश्यक विषयमा महासङ्घले तालिम आयोजना गरेर पत्रकारको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण टेवा पुर्‍याएको बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट तीर्थराज खरेल र तलु वास्केले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको सञ्चालन महासङ्घका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । तालिमको उद्घाटन शनिवार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।