विराटनगर : स्थानीय तह निर्वाचनको तयारी रकेटको गतिमा रहेकाले स्थगित गर्न नमिल्ने निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले  बताएका छन् ।  

दलका नेताहरूले निर्वाचन स्थगित हुनसक्ने बताइरहेका बेला थपलियाले रकेटको गतिमा भएकाले स्थगित गर्न नमिल्ने बताएका हुन् ।

निर्वाचन आयोगले  विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निर्वाचन तयारी रकेटको गतिमा भएका कारण रोक्न खोजे दुर्घटना हुने बताए । 

“गाडी छुटेको हैन, गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो । प्लेन भए नजिकै कुनै विमानस्थलमा अवतरण गराउन सक्ने अवस्था पनि रहन्थ्यो,’ उनले भने, ‘अहिले निर्वाचनको रकेट छुटिसकेको छ, गन्तव्यमा पुर्‍याउन नसके दुर्घटना हुन्छ ।’