धरान : सशस्त्र प्रहरी बल बिओपी (बोर्ड आउट पोस्ट) रानीले सीमावर्ती क्षेत्रबाट मानव कङ्काल सहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीलाई पक्राउ गरेको छ । 

प्रतिष्ठानमा अध्ययनरत भारतीय विद्यार्थीलाई नेपालबाट भारततर्फ जाँदै गर्दा सशस्त्र प्रहरीको टोलीले मानव शरीरका हड्डीसहित पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेका अनुसार नाकामा चेकजाँच गर्दा भारत विहारको पूर्णिया नगर पञ्चायतका २६ वर्षीय आदित्य सिन्हा पक्राउ परेका हुन् । सिन्हा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत विद्यार्थी हुन् । उनी सन् २०१६ मा प्रतिष्ठानमा भर्ना भएका थिए । 

उनको साथबाट एउटा मानिसको  सिङ्गो शरीरको हड्डी बरामद भएको लामिछानेले बताए । पढाइ सकेर घर फर्किएका सिन्हाको झोलाभित्र प्रहरीले मानव खप्पर एउटा, खुट्टाको हड्डी, हातको हड्डी, करङ, बङ्गाराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाड, औँला र कुर्कुच्चाको हड्डी बरामद भएको छ । 

पक्राउ परेका सिन्हाले आफूले अग्रज विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल लिएको बताएका छन् । पढाइ सकेपछि अध्ययनका लागि आफूले लिएको सामग्री घर नै लगेको उनले बताए । उनले मानव कङ्काल लगेको विषयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई जानकारी नभएको बताइएको छ ।

‘एमबिबिएस अध्ययनका लागि यी सामग्री लिएको थिएँ,’ उनले भने, ‘सामान लिएर आउँदा कलेजलाई जानकारी गराइनँ ।’ उनको साथबाट भेटिएको मानव हड्डीहरूमा साना अक्षरले लेखिएको छ । अध्ययन प्रयोजनका लागि लेखिएको हड्डीहरू अध्ययनकै लागि घरतर्फ लगेको उनले बताए । 

नाकाबाट पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि जनपथ प्रहरीको जिम्मा लगाएको छ । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीका अनुसार मानव अङ्गको ओसारपसारमा कानुनी प्रतिबन्ध छ । ‘कानुनले प्रतिबन्ध लगाएको मानव अङ्ग नेपालबाट भारततिर लादै गरेको अवस्थामा बरामद गरिएको हो,’ उनले भने, ‘ओसारपसारमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरेर थप अनुसन्धानका लागि जनपथ प्रहरीको जिम्मा लगाइएको छ ।’ 

सशस्त्रले गत असोज १८ गते विराटनगर–१५ बाटै मानव अङ्गजस्तो देखिने वस्तु बरामद गरेको थियो । भारतबाट नेपाल प्रवेश गरेको को२च ९६४८ नम्बरको मारुती भ्यान खानतलासी गर्दा सशस्त्रले मानव खप्परका टुक्राजस्तो २८ थान र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० थान बरामद गरेको थियो । 

भ्यानका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीविरुद्ध प्रहरीले त्यति बेला अभद्र व्यवहार मुद्दा चलाएको थियो । उनीहरू धरौटीमा छुटिसकेका छन् ।

Kangkal-sahit-pakrau