धरान : झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध सामान र ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।  

हिजो दिउँसो साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको RJ 18 GB 3721 नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा उक्त कन्टेनरमा अवैध रूपमा नेपाल ल्याउँदै गरेको २० लाख बराबरको बिस्कुट बरामद भएको थियो ।

अवैध रूपमा बरामद भएको बिस्कुट, कन्टेनर र कन्टेनर चालक भारतीय नागरिक २२ वर्षीय सिशराम गोर्सी समेतलाई नियन्त्रणमा लिई  आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । 

यसै गरी झापाको मेचीनगर नगरपालिका–६ बाटै ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खरीबारी दार्जिलिङका २४ वर्षीय नन्दन बर्मन रहेका छन् । हिजो बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट पैदल नेपाल तर्फ आउँदै गरेका बर्मनलाई शङ्का लागि शरीर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका बर्मनको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।