धरान : प्रदेश नं.१ का प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ वर्ष २०७९ सालको शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख खापुङले शुभकामना वक्तव्य जारी गरी विविधता युक्त तथा फरक विशेषता बोकेको प्रदेश नं. १ मा सबै जाति, भाषिक, धार्मिक तथा सांस्कृतिक समुदाय रहेको उल्लेख गर्दै सबै जाति, भाषिक, धार्मिक तथा सांस्कृतिक समुदायले आ–आफ्नै नयाँ वर्ष मनाएता पनि मूलतः विक्रम संवत्ले नै सबै नेपालीलाई डोर्‍याएको कुरा प्रस्ट पार्न चाहन्छु भनेका छन् ।

सामाजिक सद्भाव, सहिष्णुता यस प्रदेशको चिनारी हुन् । जसले समुन्नत मुलुक बनाउन, सङ्घीयतालाई बलियो बनाउन अहम् भूमिका खेलिरहेको वक्तव्यमा उल्लेख छ । समुदाय बलियो भए समाज बलियो हुन्छ । समाज बलियो भए प्रदेश बलियो हुन्छ र प्रदेश बलियो भए सङ्घ बलियो हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै हिँड्न सक्ने वातावरण बनाउन यसै अवसरबाट सङ्कल्प गरौँ । फेरि पनि सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष विक्रम संवत् २०७९ सालको अवसरमा सुस्वास्थ्य, दीर्घायु, उन्नति एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु शुभकामना वक्तव्यमा उल्लेख छ ।