धरान : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ वर्ष थप सुखद र उपलब्धिमूलक बन्न सकोस् भन्दै नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गरेका छन् । 

राईले एक शुभकामना सन्देश जारी गर्दै नयाँ वर्ष २०७९, मुलुकमा सङ्घीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सभाको अन्तिम वर्ष पनि हो । यस वर्षको सुरुवाती महिना वैशाखमा मुलुकभरका स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न हुन गइरहेको छ।

यो वर्ष प्रदेश र सङ्घीय संसद्को कार्यकाल समाप्त हुने वर्ष पनि हो । आवधिक रूपमा जनताको अभिमत सङ्कलन गर्ने र यसकै आधारमा राज्य व्यवस्था सञ्चालन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको प्राण वायु पनि भनिन्छ । सोहीअनुसार हुने निर्वाचनले राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्दछ । यसै वर्ष हुने सबै तहका निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्दछु भनेका छन् ।

हामी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा विगत चार वर्ष कसरी व्यतीत भए सिंहावलोकन गर्दै अब बाँकी समय कसरी उपलब्धिमूलक बनाउने भन्ने एउटा चुनौतीपूर्ण अवस्थामा पनि छौँ । प्रदेश नं. १ को नामकरण गर्न थाती रहेको सन्दर्भमा अबका दिनमा प्रदेश सभाको प्रमुख राजनीतिक दल यस कार्यमा सक्रियताका साथ प्रस्तुत हुने अपेक्षा गरेको छु । प्रदेश सभामा रहेका मुख्य राजनीतिक दलहरूको सहयोग, समर्थन र खुल्ला प्रयास भएको अवस्थामा प्रदेश नं. १ को नामकरण यसै वर्षमा टुङ्गिने विश्वास पनि व्यक्त गर्दछु सन्देशमा उल्लेख छ । 

एउटा विशिष्ट परिस्थितिमा सरकार सञ्चालन गर्न आइपुगेको बताउँदै मुख्यमन्त्री राईले विगतमा शान्ति, स्थिरता, सुशासनका लागि दिइएको जनमत खण्डित हुँदा एक अलग परिस्थितिमा हामी सरकार सञ्चालन गर्न आइपुगेका हौँ । हाम्रा लागि २०७८ साल कोरोना महामारी र त्यसको सङ्क्रमणका कारणले केही सुखद हुन सकेन । हाम्रा साधन स्रोतलाई कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापनमा केन्द्रित गर्दा नियमित काम कारबाही केही हदसम्म प्रभावित भए । यद्यपि सीमित साधन स्रोतका बाबजुद पनि हामी जनताको अपेक्षा पूरा गर्न प्रयासरत छौँ । आर्थिक, सामाजिक रूपान्तरण सहित जनअपेक्षा पूरा गर्न हामी निरन्तर अघि बढ्ने कुराको विश्वास पनि दिलाउन चाहन्छु सन्देशमा उल्लेख गरेका छन् ।

नयाँ वर्षसँगै राजनीतिक स्थिरता र स्थायित्व सुदृढ होस : मन्त्री कार्की

यसै गरी प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नेपालको संविधान जारी भएपछि स्थापित प्रदेश संरचनाले जनताका आवश्यकता सँगै विकाशका कामहरू पनि थप भइरहेको बताएका छन् ।

नव वर्ष २०७९ साल प्रारम्भको अवसरमा शुभकामना जारी गर्दै उनले जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने बताए ।

उनले भनेका छन्’राजनीति पेसा हैन सेवा हो । त्यसमा पनि मैले भन्ने गरेको छु,‘जनप्रतिनिधि जनताको शासक हैन सेवक बन्नु पर्दछ भनेर । प्रदेश सरकार त्यसमा पनि मेरो नेतृत्वमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनभावना अनुसार कार्य सम्पादन गरिरहेको ब्यहोरा विदितै छ । आफू जिम्मेवारीमा रहँदासम्म जनताको मनमा बसेर जनभावना अनुसारका काम गर्ने अठोट लिएको छु । नयाँ वर्षको आगमनसँगै मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व अझ बढी सुदृढ कायम हुनेछ भन्ने अपेक्षा गरेको छु ।’

आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने भएकाले अग्रगामी निकासका लागि दृढ सङ्कल्प आवश्यक भएको उल्लेख गर्दै उनले असल जनप्रतिनिधिको पहिचान बनाउनु आवश्यक रहेको बताए ।

Kedar-Karki-Subhakamana