धरान : नव वर्ष २०७९ को अवसरमा परिवर्तनका लागि सामाजिक अभियानले धरानको प्रमुख आकर्षणको रूपमा रहेको धरानका मठमन्दिर, कला–संस्कृति र एडभेन्चरको भिडियो क्लिप निर्माण गरेको छ । 

कोभिड पछि बामे सर्न थालेको धरानको पर्यटनको प्रवर्द्धनका अभियानले भिडियो निर्माण गरेको हो । नेपाल र विशेष गरी भारतको पश्चिम बङ्गाल र विहारमा फेसबुकको पेज, टिकटक र इन्टाग्रामबाट सो क्षेत्रहरूको प्रवर्द्धन गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताए । 

“धरानका पर्यटकीय क्षेत्र, कला संस्कृति र एडभेन्चरको छोटो भिडियो निर्माण गरेका छौँ, फेसबुक, इनस्टाग्राम र टिकटकबाट प्रवर्द्धन गर्छौँ । पक्कै पनि यो प्रयोगले धरान आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुने बरालले बताए । अत्याधुनिक प्रविधि प्रयोग गरेर छायाङ्कन र सम्पादन गरिएको सो भिडियो क्लिपमा बुढासुब्बा मन्दिरको १ मिनट ३६ सेकेन्ड, दन्तकाली मन्दिरको २ मिनेट ८ सेकेन्ड, पिण्डेश्वर मन्दिरको २ मिनेट १७ को रहेको छ ।

त्यसै गरी धरानको विभिन्न संस्कृति र एडभेन्चरको भिडियो पनि सम्पादनको क्रममा रहेको अभियानका अध्यक्ष विष्णु बरालले बताएका छन् । धरानको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र नै रहेको र सो क्षेत्रको प्रवर्द्धन गर्न धरानेहरु लागि पर्नुपर्ने बरालले बताए । 

अभियानको सामाजिक स्वास्थ्य क्लिनिक १४ औँ संस्करणमा

परिवर्तनका लागि सामाजिक अभियानले स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्य समेत गर्दै आइरहेको छ । 

अभियानले हरेक महिनाको पहिलो र तेस्रो शनिवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा सामाजिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहेको छ । ७० वर्ष भन्दा माथिको ज्येष्ठ नागरिकहरूका लागि सञ्चालित सो क्लिनिकमा विशेष गरी मुटु, रक्तचाप र मधुमेह परीक्षण गर्ने गरिन्छ ।

वडा वडामा क्लिनिक सञ्चालन गर्ने कार्यक्रम १३ औँ संस्करण सम्पन्न भइसकेको छ । अभियानले आगामी १४ औँ संस्करणको सो क्लिनिक यही २०७९ वैशाख ३ गते शनिवार धरान ३ नं. वडा कार्यालयको सहयोगमा भानु स्मृति मा.वि.मा आयोजना गर्न लागेको छ । 

“घरको स्कुल” धरान–१५ मा

परिवर्तनका लागि सामाजिक अभियानले शिक्षा क्षेत्रमा “घरको स्कुल” कार्यक्रम सञ्चालन गरिरहेको छ । 

निम्न आय भएका अभिभावकका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित उक्त कार्यक्रम धरान–१५, खोरिया बस्ती स्थित जनता आधारभूत प्रा. वि. मा सञ्चालन भइरहेको छ ।

सो विद्यालयमा अध्ययनरत ३, ४ र ५ कक्षाका विद्यार्थीहरूलाई २ समूहमा विभाजन गरी सञ्चालित “घरको स्कुल” परियोजना हाल ४५ जना विद्यार्थीहरू समेत अध्ययन गरिरहेका छन् ।