झापा : झापामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी तालमेलका विषयमा प्रतिगमन विरुद्ध सङ्घर्षरत पाँच दलीय गठबन्धन सहमति नजिक पुगेका छन् । 

वैशाख ३० गते हुने निर्वाचनका लागि झापाका १५ वटा स्थानीय तहमा उम्मेदवारको टुङ्गो र उम्मेदवार तालमेलका विषयमा विभिन्न चरणका बैठकमा छलफल भइरहेको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले बताए । 

आजसम्ममा पाँच दलीय गठबन्धनले उम्मेदवारी तालमेल सहमति पत्रमा हस्ताक्षर गर्ने सम्भावना रहेको सचिव हुमागाईँले बताए । 

गठबन्धन दलका झापा जिल्ला संयोजक तथा नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबे, संविधान सभा सदस्य तथा  नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुधीर कुमार सिवाकोटी, नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का कृषि मन्त्री झलकसिंह दर्लामी सन्देश, संविधान सभा सदस्य मोहन टुडु, माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य सिपी कडरिया, झापा अध्यक्ष राजु आचार्य अग्नि, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य भास्कर काफ्ले, नीलमणि बराल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया, झापा अध्यक्ष दीपेनवाला राई लगायतका नेताहरू निरन्तर  छलफलमा छन् ।