धरान : लिम्बु समुदायको धार्मिक, सांस्कृतिक मुद्दाहरूका विषयमा किरात याक्थुङ चुम्लुङ र युमा साम्यो बिच धरानमा छलफल भएको छ । 

पछिल्लो समय धर्मको नाम, भाषा, मौलिक संस्कृति, इतिहासका बारेमा चुम्लुङ गम्भीर नभएको आरोप युमा साम्योले लगाउँदै आएको छ । चुम्लुङले भने ऐतिहासिक तथ्यहरूको पुनर्स्थापना, भाषा, धर्म संस्कृतिको पुनर्जागरणको आन्दोलनमा कुनै सम्झौता नगरिएको दाबी गर्दै आएको छ । 

चुम्लुङ केन्द्रीय समितिको दोस्रो सङ्घीय बैठकको अवसरमा पदाधिकारीहरू धरानमा रहेका बेला युमा साम्योसंग समग्र विषयमा छलफल भएको हो । गोर्खा किचेनमा भएको छलफलमा चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापो, उपाध्यक्ष डा.कमल तिगेला, गोविन्द आङ्बुहाङ उपमहासचिव डा.योगेन्द्र पालुङवा, कोषाध्यक्ष अमर तुम्याहाङ सहित सङ्घीय पदाधिकारीहरू सहभागी थिए । 

युमा साम्योबाट केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार वनेम, महासचिव डा.रमेश इजम, उपाध्यक्षदोय हर्क सुब्बा इजम, मानबहादुर सेरेङ, सचिवालय सदस्य देव सुब्बा, विरान लिम्बु, केन्द्रीय सदस्य योबाहाङ तुम्बाहाङफे सहितको टोली सहभागी थिए । विवाद जारी रहेको क्रममा दुवै संस्था बिच पहिलो पटक एकै टेबलमा औपचारिक छलफल भएको हो । यसअघि जनगणनाका बेला धर्मको नामलाई लिएर सामाजिक सञ्जालमा देखिने गाली गलौज सम्मको स्तरमा झरेको थियो । त्यस्तो विवादले लिम्बु समुदायलाई ध्रुवीकरण गराउने हो कि भन्ने आशङ्का समेत उत्पन्न भएको थियो । 

औपचारिक रूपमा पहिलो पटक भएको छलफलले त्यसलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने चुम्लुङ र युमा साम्यो दुवै पक्षले विश्वास प्रकट गरेको छ । चुम्लुङको एघारौँ महाधिवेशनद्वारा निर्वाचित नयाँ कार्यसमितिले विवादका विषयमा आपसी छलफल गर्ने पहल गरेको हो । 

चुम्लुङ सङ्घीय अध्यक्ष प्रेम येक्तेनले छलफल सकारात्मक रहेको बताए । उनले भने ‘उहाँहरूले उठाउनु भएको कुराहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।’ पहिलो पटक भएको छलफलबाट दुवै संस्था साझा सवालहरूमा मिलेर अघि बढ्न सक्ने सम्भावनाका पहिचान भएको उनले बताए । लिम्बुवानका ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरूको मौलिकता पूनःस्थापित गर्न सहकार्यको प्रस्ताव युमा साम्योले प्रस्ताव गरेको अध्यक्ष येक्तेनको भनाई थियो । 

युमा साम्यो महासभाका महासचिव डा.रमेश इजमले भने ‘साझा मुद्दामा योजनबद्ध रूपले कसरी अघि बढ्न सकिन्छ भन्ने हाम्रो चासो हो ।’ समान धारणाका विषयलाई साझा मुद्दा बनाउन सकिने बारेमा छलफल भएको उनले बताए । 

विशेष गरी तत्कालै लिम्बुवानका मुन्धुमी स्थलहरूको संरक्षण, त्यसको मौलिकता स्थापित गर्न संयुक्त अभियान चलाउनु पर्नेमा जोड दिएको बताउँदै उनले भने ‘धार्मिक स्थलहरूको संरक्षणका सवालमा चुम्लुङलाई स्पष्ट नीति कार्यक्रम बनाउन हामीले आग्रह गर्‍यौँ ।’    यसै बिच किरात याक्थुङ चुम्लुङको एघरौं महाधिवेशनपछि दोस्रो सङ्घीय बैठक शनिवार धरानमा सम्पन्न भएको छ । 

नयाँ कार्यसमिति निर्वाचित भएको दुई महिना नबित्दै यसपालि केन्द्रीय समितिको बैठक बसेको हो । यस अघि महाधिवेशन भएको छ महिनापछि मात्र बैठक बस्ने गरेको थियो ।

कोरोना महामारीका कारण लामो समय भौतिक रूपमा गाउँ, नगर जिल्लाका चुम्लुङको गतिविधि शिथिल रहेकाले त्यसलाई पुरानै गतिमा फर्काउन जरुरी भएकोले केन्द्रीय समितिको तत्काल बैठक डाकिएको केन्द्रीय अध्यक्ष येक्तेनले बताए । उनले भने ‘पहिले महाधिवेशन भएको छ महिना पछि बैठक बोलाइने गरिन्थ्यो, त्यसो गर्दा महाधिवेशनको जोस जाँगर नै हराइसक्ने भएकोले तत्कालै बैठक बोलाइएको हो ।’

बैठकमा स्थानीय निर्वाचनमा लिम्बु जातिलाई स्थानीय तहको नेतृत्वमा अधिकतम सङ्ख्यामा ल्याउन चुम्लुङले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको बैठकमा सहभागीहरूले बताए । उपाध्यक्ष डा.कमल तिगेलाले प्रस्तुत गरेको ‘स्थानीय निर्वाचन २०७९मा कियाचुको अवधारण’ विषयक प्रतिवेदनमा त्यस्तो छलफल भएको हो । बैठकले अधिकतम स्थानीय तहमा लिम्बु जातिको नेतृत्व स्थापित गर्न चुम्लुङले प्रभावकारी भूमिका खेल्न तल्लो तहका सङ्गठन सक्रिय बनाउने सहित अवधारणा पत्र पारित गरेको छ ।

महासचिव निरन्ती तुम्बापोले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रीय सदस्य भनेको ठुलो पद हो भन्ने भ्रम धेरैलाई भएकोले पनि उनीहरूको काम के हो भन्ने नबुझेको अवस्था चुम्लुङमा विद्यमान रहेका बताइन् । उनले भनिन् ‘वडा, गाउँ, नगर र जिल्लालाई सक्रिय गराउन केन्द्रीय सदस्यहरूले उनीहरूसँगै काम गर्नुपर्ने दायित्व भएको बिर्सन हुन्न ।’ तल्लो तह क्रियाशील र बलियो नभए सम्म चुम्लुङले लिम्बु समुदायलाई माथि उठाउन नसक्ने उनले बताइन् । बैठकमा सल्लाहकारहरू प्रा.ध्रुव सुब्बा, नरप्रसाद लिम्बु, हर्ष सुब्बा, दुर्गामाया लिम्बु, चन्द्रमाया लिम्बु लगायतको उपस्थिति रहेको थियो ।