धरान : मोरङको सुन्दरहरैचामा कुटपिट गरी हत्या गरेको अभियोगमा बाबु छोरा पक्राउ परेका छन् । 

सुन्दरहरैचा नगरपालिका–६ का ६४ वर्षीय देवी प्रसाद तामाङ र ३२ वर्षीय मणि कुमार तामाङलाई कुटपिट गरी व्यक्ति हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत चैत्र ३० गते राती पौने १० बजेको समयमा स्थानीय देवी प्रसाद तामाङ र ४१ वर्षीय गणेश भनिने मान बहादुर तामाङ बिच सामान्य वादविवाद भई झैँ–झगडा भएको र बाबुलाई कुटपिट गरेको भनी देवी प्रसादका छोरा ३२ वर्षीय मणि कुमार तामाङले मान बहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनी  घाइते भएका थिए । 

घाइते मान बहादुरलाई उपचारको लागी विराटनगरको न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख ३ गते हिजो बिहान मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको लगत्तै फरार रहेका दुवै बाबु छोरालाई इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले वैशाख ३ गते नै पक्राउ गरेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।