झापा : झापाको दमकमा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको छ । 

केही दिन अघि दमक-९ स्थित एक सहकारी संस्थाबाट लाखौँ रुपैयाँ चोरी भएको थियो । सो घटनाका विषयमा अहिले पनि अनुसन्धान भइरहेको दमक प्रहरीले जनाएको छ । हालसम्म उक्त घटनामा संलग्नको प्रहरीले सुइँकोसम्म पाउन सकेको छैन । 

त्यस लगत्तै दमककै जेसिज चोक नजिकैबाट एउटा मोटरसाइकल चोरी भयो । सो घटनाका बिषयमापनि प्रहरी बेखबर भने छैन यद्यपि अहिलेसम्म प्रहरीले  कसैलाई पक्राउ गर्न सकेको छैन । दमकका विभिन्न स्थानमा चोरीका घटना बढ्दै गए पनि प्रहरीले घटनामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न नसक्दा स्थानीयवासी चिन्तित बनेका छन् । 

गए राति पनि दमक-९ स्थित पूर्वेली टोलमा घरमै पार्किङ गरिराखेको स्थानीय बोधराज सन्जेलको मोटरसाइकल चोरी भयो । उक्त घटनामा संलग्नहरू नजिकै रहेको सिसी क्यामरामा कैद भएका छन् । उनीहरूको खोजी तीव्र पारिएको दमक प्रहरीले जनाए पनि उनीहरू पक्राउ पर्लान् भन्नेमा स्थानीय संसकितनै छन् । 

यसअघि भएका विभिन्न चोरीका घटनामा संलग्नहरूका बारेमा प्रहरीले गम्भीरता पूर्वक नलिएकै कारण चोरीका घटनामा वृद्धि हुन थालेको स्थानीयहरू बताउँछन् । 

दमक-९ स्थित पूर्वेली टोल विकासका अध्यक्ष उमानाथ न्यौपाने प्रहरीले यस्ता घटनालाई गम्भीरतापूर्वक नलिएकै कारण चोरीमा संलग्न भएकाहरूको मनोबल बढेको र चोरीका घटनामा वृद्धि हुँदै गएको बताउँछन् ।