इटहरी : नेपाली काँग्रेसका युवा नेता धनबहादुर पुरीले इटहरी उपमहानगरपालिकाको मेयर गठबन्धनका अन्य दलले पाए स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका छन् । गठबन्धनको नाममा काँग्रेसले मेयरमा उम्मेदवारी दिन नपाउने अवस्था आए विद्रोह गर्ने चेतावनी दिएका हुन् । 

फेसबुक मार्फत चेतावनी दिँदै उनले दर्जनौँ काँग्रेसीले उम्मेदवारी दिने पक्का भएको बताएका छन् । 'इटहरी मेयरकोलागि गठबन्धनको नाममा नेकपा एसले जबरजस्ती टिकट ल्याए इटहरीमा मेयरको लागि म सहित दर्जनौँ काँग्रेसीको उम्मेदवारी रहने पक्कापक्की छ । मेयर पदमा स्वतन्त्र उम्मेदवार हुने भयो धने,' उनले लेखेका छन् । 

गठबन्धनका दलहरूको प्रस्तावित उम्मेदवारको सुची सार्वजनिक भएको बेला पुरीले विद्रोह गर्न तयार रहेको बताए । यसअघि नेकपा एमालेका उम्मेदवार द्धारिकलाल चौधरी सँग २७ सय मतान्तरले पराजित भएको काँग्रेस यस पटक चुनाव जित्ने रणनीतिमा छ । 

टोल समिति देखी सङ्गठन मजबुत बनाएको काँग्रेसले इटहरीमा परिवर्तनको पक्षमा मत माग्ने योजना बनाएको छ । यही बेला गठबन्धनको भाग मिलाउन भन्दै नेकपा (एकीकृत समाजवादी) ले मेयर र काँग्रेसले उपमेयर पाउने गरी प्रस्ताव तयार भएको छ । पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टलाई उम्मेदवार बनाउने नेकपा एसको तयारी छ । 

काँग्रेसबाट इटहरी नगर सभापति हेमकर्ण पौडेल, यसअघि मेयर पदका उम्मेदवार तथा महाधिवेशन प्रतिनिधि रोहित प्रसाईँ र महाधिवेशन प्रतिनिधि भीम बहादुर पौडेल बलियो दाबेदारको रूपमा देखिएका छन् ।