धरान : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरी कर्मचारीहरूलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । 

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी दमक तथा इटहरीमा विस्फोटन जन्य पदार्थहरू राखी आम नागरिकहरुलाई  आतङ्कित बनाउने समूहलाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश प्रहरी कार्यालयको आरआईटी समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी हवलदार गुणराज अधिकारीलाई २०७८ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको छ । 

पुरस्कृत प्रहरी द्वयले व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै मिति २०७८।१०।०९ गते झापा जिल्लाको बिर्तामोड बस स्टेण्डमा, १३ गते झापा जिल्लाको दमक शिवान चर्चमा “हिमाल सुरक्षा परिषद्” का पर्चाहरू सहित सर्वसाधारणलाई त्रसित बनाउन विस्फोटक पदार्थ प्रेसर कुकर बम राखेको र मिति २०७८।१२।१४ गते राती सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित अमित श्रेष्ठको घर कोठामा अन्यत्र विस्फोटन गराउने उद्देश्यले विस्फोटक पदार्थ लुकाई छिपाई राखेको अवस्थामा विस्फोट भएको घटना सम्बन्धमा अनुसन्धानबाट खुलेका मुख्य योजनाकार तथा संलग्न व्यक्तिहरूको पहिचान गरी निजहरूलाई पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

यसरी आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई आरआइटी समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का  र इलाका प्रहरी कार्यालय झापा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी हवलदार गुणराज अधिकारीलाई सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।   

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय “क“ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिँदै आइएको छ ।