धरान : मोरङ र पाँचथरमा भएको दुई छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित भित्री सडक खण्डमा ट्र्याक्टर ठक्करबाट वृद्धको मृत्यु भएको छ । हिजो बिहान साढे ७ बजेको समयमा प्रदेश १–०२–००३ त ८२० नम्बरको ट्र्याक्टरले पैदल यात्री लेटाङ–५ का ८१ वर्षीय मान बहादुर राईलाई ठक्कर दिदा घाइते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्र्याक्टर र चालक मिक्लाजुङ–५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेकोे छ ।

यसै गरी पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाट स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका बेलका नगरपालिका–६ उदयपुरका ३० वर्षीय हरि राई मृत अवस्थामा फेला परेका छन् । 

वैशाख २ गते दिउँसो साथीहरूसँग रबरको ट्युबमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबी बेपत्ता भएका राईको खोज तलासको क्रममा हिजो बेलुका ५ बजे धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित तमोर नदीको किनारमा मृत अवस्थामा शव फेला परेको हो । मृतक राई स्वच्छन्द निर्माण सेवा प्रालिले निर्माण गर्दै गरेको कुम्मायक–५ लुम्वुघाट स्थित तमोर नदीमा पाँचथर–तेह्रथुम जोड्ने निर्माणाधीन पुलका कामदार हुन ।  घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको छ ।