धरान : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले केन्द्रीय सदस्य भीम राईको संयोजकत्वमा ११२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको छ ।

जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले धरान १५ चुम्लुङ हिममा केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीको प्रमुख आतिथ्यमा सोमबार घोषणा भएको हो । आगामी स्थानीय तह निर्वाचनलाई सफल बनाउन भन्दै धरानमा रहेका पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश समिति सदस्यहरू, राष्ट्रिय समिति सदस्यहरू, जिल्ला समिति सदस्यहरू, नगर समिति, युवा समिति, विद्यार्थी समितिहरू निर्वाचन परिचालन समितिमा रहने धरान नगर अध्यक्ष ताजुप लिम्बुले बताए ।

घोषणा सभामा बोल्दै प्रमुख अतिथि युवराज कार्कीले चुनाव पार्टीको  लागि उत्सव भएको बताए । उनले चुनाव एउटा युद्ध समेत भएको बताए । अहिले गठबन्धन भएर जाने तयारी भएको भन्दै बिचार र सिद्धान्त नमिल्ने दलसँगको गठबन्धनलाई तालमेल भनिने बताए । समान बिचार समान सिद्धान्त भएको पार्टी चुनाव सकिएपछि पनि सँगै जान सकिने बताए । तर नीति सिद्धान्त नमिल्ने दलसँगको गठबन्धन चुनाव सम्म मात्र हुने स्पष्ट पारे । सार्वभौम सत्ता र राजकीय सत्ता निती निर्माण गर्ने सत्ता संचाल गर्न पाउने भएको बताए । हालको संविधानले सार्वभौम सत्ता जनता रहेको भन्दै यसअघि सार्वभौम सत्ता श्री ५ रहेको उल्लेख भएको बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक भीम राईले देश जोकरले चलाए भने युक्रेनको हालत हुने बताए । अब जोकर चटकेहरुलाई नहराए सम्म देश नबन्ने बताए । साम्यवादको कुरा गर्ने कम्युनिस्टले उत्तर कोरिया र क्युबा जस्तो बनाउँछु भन्नुपर्नेमा स्विजरल्याण्ड जस्तो बनाउँछु भन्नू गलत भएको  बताए । गठबन्धन भइरहेको भन्दै गठबन्धनको अगाडि एमालेले चुनाव जित्छु भन्ने सपना नदेख्दा हुने बताए । धरानमा पर्यटनको बजेट होटेलमा रक्सी खाएर सिध्याउने एमालेलाई कुनै हालतमा भोट दिन नहुने बताए ।

केन्द्रीय सदस्य दीपक मेन्याङ्बोले जनता समाजवादी पार्टीले पार्टीमा स्वच्छ छवि भएका सबै नेता कार्यकर्ता रहेको दाबी गरे । जनता समाजवादी नै जातीय वर्गीयको अधिकारको आवाज उठाउने पार्टी रहेको बताए । अन्य पार्टीले यस्ता मुद्दा नउठाउने दाबी गरे ।

केन्द्रीय समिति सदस्य तथा शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कामिले देशमा सबै जाती समुदाय रहेको भन्दै समानुपातिक समावेशीमा खस आर्य सहितको शिल्पी दलितको पनि समान सहभागिता रहनुपर्छ भनेर आवाज उठाएको बताए । केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लावतीले जनता समाजवादी पार्टी वैकल्पिक शक्तिको रूपमा अघि बढेको बताए । यति लामो समयसम्म काङ्ग्रेस कम्युनिस्टले देश चलाएर देशको यो हाल भएको बताए । देश बदल्नको लागि भनेर नै जनता समाजवादी पार्टी वैकल्पिक रूपमा उदाएको उनको दाबी थियो ।

किरात राष्ट्रिय समिति सचिव मानभगत चाम्लिङ धरानमा गठबन्धनको कुरा उठिरहेको छलफल भइरहेको भन्दै गठबन्धन नभए पनि जनता समाजवादी पार्टी एक्लै भए पनि चुनावमा जाने बताए । लिम्बुवान राष्ट्रिय समिति तथा सुनसरी जिल्ला निर्वाचन क्षेत्र १ का अध्यक्ष नरेन्द्र पारघरी,१ नम्बर प्रदेश सदस्य उपेन्द्र लावतीले जस्तो समाज त्यस्तै प्रतिनिधि हुनुपर्छ भनेर जनता समाजवादीको मुख्य एजेन्डा रहेको बताए ।

घोषणा सभामा नगर अध्यक्ष ताजुप लिम्बुको अध्यक्षता भएको थियो । सचिव शम्भु राई पृथकले सञ्चालन गरेको घोषणा सभामा उपाध्यक्ष बिना पुमा राईले स्वागत गरेका थिए । 

Jasapa 2