धरान : 'धरानमा लहर खेलकुदको सहर' नाराका साथ मंगलबार देखी वडास्तरिय 'मेयर कप' बास्केटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा धरान वडा-१७ ले धरान-१३ लाई ७६-४२ अङ्कको फराकिलो अन्तरले पराजित गरेको छ। १०/१० मिनेटको ४ भागमा ४० मिनेट खेलाइने बास्केटबल खेलमा धरान वडा-१७ ले प्रत्येक भागमा २५-११-१५-२५ जोडेको थियो भने, धरान-१३ ले १२-५-१३-१२ अङ्क जोड्न सफल भएका थिए। 
प्रदेश १ का बास्केटबल खेलाडी एवम् धरान-१७ का खेलाडी जर्सी नं १३ सुजन राईले जम्मा ३२ अङ्क जोड्दै  खेलको म्यान अफ द म्याच घोषित भए। नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् खेलका प्रमुख अतिथि सुरज लामाद्वारा म्यान-अप-द-म्याच पुरस्कार  एक हजार र मेडल प्रदान गरेका थिए। बुधवारको प्रथम खेल २:३० मा धरान ११ र धरान १५ बिच हुने, साथै दोस्रो खेल ३:३० मा धरान १७ र धरान ५ बिच हुने आयोजकले जानकारी दिएको छ।  
वैशाख ६ गते देखि ११ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा धरान ९ वटा वडाहरूले सहभागिता जनाएको कार्यक्रम संयोजक वसन्त राईले बताए । 'धरानमा पहिलो पटक आयोजना भएको वडास्तरिय बास्केटबल प्रतियोगितामा ९ वटा वडाहरू सहभागी हुनु आफैमा सन्तोषजनक विषय हो'। बास्केटबल खेलको मैदान धरान वडा ५ मा नभए पनि सहभागिता जनाउनु बास्केटबल प्रतिको क्रेजको कारणले गर्दा नै सम्भव भएको उनले बताए। 
धरान-१७ को श्री मावि खेल मैदानमा आयोजना भइरहेको उक्त कार्यक्रमका विशिष्ट अतिथि धरान सियोन स्कुलका प्रमुख खड्क बहादुर थापामगरले 'सियोन स्कुल सबै खेल विधाहरूलाई बराबर सम्मान गर्ने गरेको' बताए। खेलकुदमा अनुशासन, गतिशीलता र लगनशीलता तिन मूलमन्त्र भएकाले खेलाडीले यी मन्त्र अनुशरण गरेमा उसले सफलता पाएरै छाड्ने उनको भनाइ छ।
धरान उपमहानगरपालिकाको आयोजनामा, सियोन स्कुलको मुख्य प्रायोजन, सुनसरि बास्केटबल सङ्घको प्राविधिक सहयोग र हराईजन क्लबको व्यवस्थापनमा पहिलो पटक भइरहेको वडास्तरिय बास्केटबल प्रतियोगितामा सञ्चालन भइरहेको छ।