धरान : परिवर्तनका लागि सामाजिक अभियानको ‘घरको स्कुल’ को पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।

चैतको तेस्रो साताबाट धरान–१५ स्थित जनता आधारभूत विद्यालयमा प्रारम्भ गरिएको पन्ध्र दिने घरको स्कुल कार्यक्रम मङ्गलवार समापन गरिएको अध्यक्ष विष्णु बरालले जानकारी दिए । 

स्कुलका विपन्न तथा गरिब परिवारका बालबालिकालाई लक्षित गरी दुई समूहमा विभाजन गरी निःशुल्क रूपमा ट्युसन पढाउने कार्य गरिएको उनले जानकारी दिए ।

यस कार्यक्रम आउँदो शैक्षिक सत्रबाट पनि प्रारम्भ गरिने कार्यक्रमका संयोजक भोजराज श्रेष्ठले बताए । विद्यालयका ३० जना बालबालिकाहरूलाई परीक्षालाई लक्षित गर्दै घरको स्कुलमा समावेश गरिएको थियो । कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरूमध्ये अति कमजोर र कमजोर विद्यार्थीहरूलाई छुट्टाछुट्टै कक्षामा ट्युसन पढाइएको उनले जानकारी दिए ।

स्कुलका दुई जना शिक्षिकाले सहजीकरण गरेका थिए । उनीहरूलाई कार्यक्रमको समापनसँगै पढाएको शुल्क पनि प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक काजीबहादुर लामाले गरिब तथा विपन्न परिवारका बच्चाहरू अध्ययन गर्ने स्कुलमा आएर अभियानले घरको स्कुल सञ्चालन गरिदिएर विद्यार्थीलाई ठुलो गुण लगाएको बताए । उनले यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्नका लागि आग्रह गरे ।

‘एक छाक खान नपाउने परिवारका विद्यार्थीहरू पनि यहाँ पढ्छन्, उनीहरू दैनिक स्कुल आउन सक्ने हुँदैनन्, ट्युसन त परको कुरा हो’ उनले भने, ‘यस्ता विद्यार्थीका लागि अभियानले ठुलै गुण लगाएको छ ।’ अभियानले विशेष गरी स्वास्थ्य, शिक्षा र पर्यटनमा जोड दिँदै आएको छ । स्वास्थ्यअन्तर्गत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा सामाजिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहेको छ ।

हरेक महिनाको पहिलो र तेस्रो शनिवार कार्यक्रम गर्दै आइरहेको अध्यक्ष बरालले जानकारी दिए । पछिल्लो शनिवार धरान–३ स्थित भानु स्मृति माविमा चौधौँ सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गरिएको थियो । त्यस्तै धरानका पर्यटकीय क्षेत्रहरूलाई समेटेर दृश्य सामग्रीसमेत निर्माण गरिएको छ । धरानका धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रलाई समेटेर दृश्य सामग्री निर्माण गरिएको हो । यसबाट पनि पर्यटकहरू धरानमा आउने अपेक्षा गरिएको छ ।